काठमाडौँ : नेपाल बीमक संघको आयोजनामा म्युनिख रि फाउण्डेशनको सहकार्यमा पाँच दिने अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलन आजदेखि राजधानी काठमाडौंमा सुरु भएको छ। कार्यक्रम होटल याक एण्ड यतिमा आयोजना गरिएको छ। जहाँ विश्वका ४० देशका करिब ३०० प्रतिनिधिहरु सहभागी छन्।
नेपाल बीमक संघका उपाध्यक्ष डिर्क रेनहार्डका अनुसार म्युनिख रि फाउण्डेशनको नेतृत्वमा विश्वभरका बीमा क्षेत्रका विशेषज्ञहरु सम्मेलनमा सहभागी हुन काठमाडौं आइपुगेका छन्। हिजो साँझसम्म २ सय ६९ विदेशी प्रतिनिधिहरु आइपुगेका थिए भने बाँकी प्रतिनिधिहरु आजसम्म आइपुग्ने अपेक्षा गरिएको छ।
नेपालको इतिहासमा पहिलो पटक विश्वका करिब ३ सय बीमा क्षेत्रका विज्ञ, जानकार र कर्मचारीहरुको सहभागितामा यस प्रकारको सम्मेलन आयोजना भएको हो। सम्मेलनको मुख्य उद्देश्य समावेशी बीमाको क्षेत्रमा गहन र नतिजामुखी छलफल गर्नु हो। जसले विश्वव्यापी रूपमा बीमा सेवाहरूलाई अझ समावेशी बनाउन मद्दत पुर्याउनेछ।
नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन्। उनका अनुसार नेपालबाट करिब २०० प्रतिनिधिहरु हरेक बीमा कम्पनीबाट पाँच जनाका दरले सहभागी हुनेछन्। साथै नेपाल बीमा प्राधिकरण लगायत अन्य सरकारी एजेन्सीहरूको पनि सहभागिता रहनेछ।
म्युनिख रि फाउण्डेशनले अघिल्लो वर्ष घानामा सम्पन्न सम्मेलनपछि यस वर्ष नेपालमा यो महत्वपूर्ण अन्तर्राष्ट्रिय बीमा सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो।



