काठमाडौँ : माथिल्लो तामाकोसी आयोजनामा १ अर्ब ८० करोड रुपैयाँको बिमा दाबी परेको छ। ४५६ मेगावाट क्षमताको यो आयोजनाले सिभिल र इलेक्ट्रो मेकानिकल इक्विपमेन्टहरूमा क्षतिको आकलन गर्दै यो दाबी पेश गरेको हो।
आयोजनाको बिमा राष्ट्रिय बिमा कम्पनीले गरेको थियो। असोज ११ र १२ गते परेको अविरल वर्षापछि आएको बाढीका कारण मुख्य बाँध, नियन्त्रण कक्ष, बालुवा थिग्र्याउने पोखरी (डिस्यान्डर) लगायतका संरचनामा ठूलो क्षति पुगेको छ।
अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमका अनुसार आयोजनामा विस्तृत निरीक्षण कार्य जारी छ।
मर्मतकार्य अघि बढिरहेको छ। पहिरोले बाँधबाट डिस्यान्डरसम्म पानी पुर्याउने भूमिगत कल्भर्टहरूमा समेत ठूलो क्षति पुर्याएको छ। एउटा डिस्यान्डर मर्मत गरी आयोजनालाई तिहारसम्म आंशिक रूपमा सञ्चालनमा ल्याउने योजना बनाइएको छ।
बाढीपछि आयोजनाको विद्युत् उत्पादन बन्द भएको छ। जसले प्रतिदिन करिब ४ करोड रुपैयाँको बिजुली उत्पादनमा प्रभाव परेको छ। विद्युत् उत्पादन ठप्प हुँदा भारततर्फको विद्युत् निर्यात पनि घटेको छ।
नेपाल विद्युत् प्राधिकरणले बाढीपहिरोका कारण विद्युत् निर्यातमा कमी आएको बताएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालू आर्थिक वर्षमा ३० अर्ब रुपैयाँको विद्युत् निर्यात गर्ने लक्ष्य राखिएको भएपनि बाढीले लक्ष्य प्रभावित भएको उल्लेख गरेका छन्।
गत वर्ष नेपालले विद्युत् निर्यातमा १३ करोड रुपैयाँको शुद्ध मुनाफा गरेको थियो। तर यस वर्ष ठूलो आयोजना क्षतिग्रस्त भएपछि विद्युत् आयात बढ्नसक्ने देखिएको छ।



