काठमाडौँ : नेपाल र संघीय गणतन्त्र जर्मनीबीचको कूटनीतिक सम्बन्ध ६५ वर्षभन्दा पुरानो छ। यस अवधिमा जर्मनीले विभिन्न विकास सहयोगमार्फत नेपाललाई शिक्षा, स्वास्थ्य, ऊर्जा, मानवअधिकार संरक्षण र भूकम्पपछिको पुनःनिर्माण जस्ता क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ।
जर्मन सहयोगी निकाय जीआइजेडले स्वास्थ्य र सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको छ। यस लेखमा, जर्मनीको विकास सहयोगका केही प्रमुख कार्यक्रम र तिनले पुर्याएको प्रभावको चर्चा गरिएको छ।
प्राविधिक सहयोग:
स्वास्थ्य क्षेत्र रणनीति–२ मा सहयोग
यस रणनीतिले नेपालमा स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। मुख्य उद्देश्य स्वास्थ्य बीमा बोर्ड र क्षेत्रीय स्वास्थ्य संस्थाहरूको सुदृढीकरण र सबैलाई समान स्वास्थ्य सेवा उपलब्ध गराउनु हो। यस कार्यक्रमले तीन मुख्य क्षेत्रहरूमा ध्यान दिएको छ।
स्वास्थ्य बीमाको सुदृढीकरण: यसले बीमाको कभरेज बढाउने र गरिब तथा असहाय जनतासम्म स्वास्थ्य बीमा पुर्याउने लक्ष्य लिएको छ।
तथ्यांक–प्रेरित स्वास्थ्य व्यवस्थापन: निर्णय प्रक्रियामा तथ्यांकको प्रयोग गरेर स्वास्थ्य सेवा सुधार्ने।
डिजिटल स्वास्थ्य सूचना प्रणालीको सुदृढीकरण: मापदण्ड निर्धारण र डाटा आदान–प्रदानमार्फत लागत कटौती र सेवा सुधार गर्ने।
लैङ्गिक समानता र सामाजिक समावेशीकरण रणनीति कार्यान्वयनमा सहयोग
यो कार्यक्रमले महिला र सीमान्तकृत वर्गलाई लक्षित गर्दै स्वास्थ्य सेवामा पहुँच बढाउने र लैङ्गिक असमनता घटाउने काम गर्छ। यसमा तीन मुख्य पहल छन्:
१. लैङ्गिक संवेदनशील योजना बनाउने।
२. स्वास्थ्य बीमाको पहुँचमा वृद्धि गर्ने।
३. सीमान्तकृत वर्गका लागि स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने।
वित्तीय सहयोग:
दुर्गममा मातृ तथा बाल स्याहारमा सुधार
सुदूरपश्चिम प्रदेशमा जन्मपूर्व र जन्मपछिको स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले, पाँच स्थानमा स्वास्थ्य संस्था निर्माण गरिएका छन्। यस परियोजनाले आवश्यक उपकरण र स्वास्थ्यकर्मीहरूलाई सहयोग गरेको छ।
शहरी क्षेत्रमा मातृ तथा बाल स्याहारमा सुधार
काठमाडौंको परोपकार प्रसूति अस्पतालमा भएको भीड घटाउन उपत्यका बाहिर दुई स्याटेलाइट क्लिनिक स्थापना गरिनेछ।
पुनर्निर्माण स्वास्थ्य योजना
भूकम्प प्रभावित जिल्लाहरूमा तीन अस्पताल पुनर्निर्माण गरिएको छ। ग्रामीण स्वास्थ्य चौकीहरूको निर्माणको दोस्रो चरणमा काम भइरहेको छ।
ग्याप अध्ययन
यस अध्ययनले स्वास्थ्य बीमा, जलवायु परिवर्तन अनुकूलन र कुपोषणविरुद्धको प्रयासहरूलाई सुधार्ने रणनीतिहरू पहिचान गर्छ।
परिणामहरू (२०१६–२०२४):
सामाजिक स्वास्थ्य संरक्षण योजना: स्वास्थ्य बीमाले ३.५ मिलियनभन्दा बढी नागरिकहरूलाई कभरेज दिएको छ।
मिडवाइफ्री तालिम: हालसम्म ४७९ विद्यार्थी मिडवाइफ्री तालिममा भर्ना भएका छन्।
स्वास्थ्यजन्य फोहर व्यवस्थापन: १३ अस्पतालहरूले वातावरणमैत्री फोहर व्यवस्थापन प्रणाली लागू गरेका छन्।
रोग निगरानी: ९४% अस्पतालहरूले नियमित रूपमा विद्युतिय माध्यमबाट रिपोर्टिङ गर्छन्।
कोभिड–१९ खोप अभियान: पाँच जिल्लामा खोप कार्यक्रमलाई सफल बनाउन सहयोग गरिएको छ।
ग्रामीण अल्ट्रासाउन्ड तालिम: गर्भावस्थाका जटिलताहरू पहिचान गर्न र जोखिम न्यूनीकरण गर्न सहयोग गरिएको छ।
भूकम्पपछि अस्पताल पुनर्निर्माण: तीन अस्पताल पुनर्निर्माण गरिएका छन् र थप ११ स्वास्थ्य पूर्वाधार परियोजनामा काम भइरहेको छ।
यसरी जर्मनीको विकास सहयोगले नेपालका स्वास्थ्य र सामाजिक क्षेत्रमा दीर्घकालीन प्रभाव पारेको छ।



