काठमाडौँ : असोज ११ र १२ मा परेको अविरल वर्षाका कारण मुलुकभर व्यापक बाढी र पहिरोका घटनाहरू भएका छन। जसले ठूलो मात्रामा धनजनको क्षति पुर्याएको छ। प्रारम्भिक सरकारी अनुमान अनुसार कुल २२ अर्बभन्दा बढीको क्षति भएको छ। यसबिपतमा सडकमा गुडिरहेका सवारी साधनहरूमा पनि ठुलो क्षति पुगेको छ।
सवारी साधनको बीमा भएकाहरूले आफ्नो क्षतिको दाबी भुक्तानी पाइने आशा राखिरहेका छन्। प्रारम्भिक अनुमान अनुसार निर्जीवन बीमा कम्पनीहरूले करिब २ हजार ५ सय बीमा दाबी भुक्तानी माग हुने अनुमान गरेका छन्। शिखर इन्स्योरेन्सकी सूचना अधिकारी सविता मास्के भन्छिन्, "बीमा गरिएका सवारी साधनहरूको क्षतिपूर्ति पाउन सकिन्छ। बीमाको प्रकार अनुसार क्षतिपूर्ति फरक हुन्छ र हामी छिटो छरितो रूपमा भुक्तानी दिने प्रयासमा छौं।"
सवारी साधनको बीमामा दुई मुख्य प्रकार छन्। पहिलो हो "तेस्रो पक्ष बीमा" जुन सरकारले अनिवार्य गरेको छ। यो बीमाले दुर्घटनामा अर्काे सवारी साधन वा सम्पत्तिलाई नोक्सान गरेमा क्षतिपूर्ति दिन्। तर बीमित सवारी साधनमा भएको क्षतिको भुक्तानी दिँदैन।
तेस्रो पक्ष बीमामा चालक र यात्रुको मृत्यु हुँदा पाँच लाख रूपैयाँसम्म र अस्पतालको खर्चमा तीन लाख रूपैयाँसम्म दिइन्छ। यदि सवारीले एकभन्दा बढीलाई क्षति पुर्यायो भने मोटरसाइकल दुर्घटनामा २५ लाख रूपैयाँसम्म र ठूला सवारी साधनले गरेको क्षतिमा ६० लाख रूपैयाँसम्मको क्षतिपूर्ति दिइन्छ।
अर्को प्रकारको बीमा "व्यापक बीमा" ह। जसले सवारीधनीको सवारीमा भएको क्षति समेत समेट्छ। प्राकृतिक प्रकोपबाट हुने क्षतिको भुक्तानी समेत यस बीमाले गर्छ। मास्केका अनुसार व्यापक बीमा गराएका सवारी साधनहरूले बाढी पहिरो जस्ता प्रकोपबाट भएको क्षतिको दाबी भुक्तानी पाउनेछन्। यसमा हुलदंगा वा आतंकको कारणले हुने क्षतिको दाबी समेत समेटिएको हुन्छ यदि बीमामा त्यसलाई समावेश गरिएको छ भने।
यदि बाढीले सवारी नै बगाएर हराएको छ भने पनि बीमितले क्षतिपूर्ति पाउन सक्छन। तर प्रहरी रिपोर्ट पेस गर्नु पर्नेछ।
असोज १३ गते बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई बाढी र पहिरोको कारणले भएको क्षतिको विवरण संकलन गर्न र भुक्तानी प्रक्रिया सरल बनाउन निर्देशन दिएको छ। जसअनुसार बीमा कम्पनीहरूले दाबीहरूलाई यथासम्भव छिटो प्रक्रिया गरिरहेका छन्।



