काठमाडौँ : छैठौं एसियाली जनसङ्ख्या सम्मेलन नेपालमा आयोजना हुने भएको छ। त्रिभुवन विश्वविद्यालयको जनसङ्ख्या अध्ययन केन्द्रीय विभागले यो सम्मेलन आगामी २७–३० नोभेम्बर २०२४ (१२–१५ मंसिर २०८१) मा काठमाडौंमा गर्ने तयारी गरेको हो। सम्मेलनमा ५० भन्दा बढी देशका करिब ८ सय प्रतिनिधिहरूको सहभागिता अपेक्षित छ। विभिन्न विषयमा करिब ४ सय भन्दा बढी कार्यपत्रहरू प्रस्तुत गरिने सम्मेलनमा १७ वटा जनसङ्ख्याका महत्त्वपूर्ण विषयवस्तुहरूमा छलफल हुनेछ।
त्रिवि जनसङ्ख्या केन्द्रीय विभागका प्रमुख प्राध्यापक डा. योगेन्द्र बहादुर गुरुङका अनुसार, यो सम्मेलनले नेपालको जनसङ्ख्या सम्बन्धी समस्या पहिचान गर्न र नीति निर्माणमा सहयोग पुर्याउनेछ। उनले सम्मेलनलाई नेपालको जनसङ्ख्या विकासका लागि अन्तर्राष्ट्रिय विशेषज्ञताबाट सिक्न र भावी योजनाहरू निर्माण गर्न महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको बताए।
सह-प्राध्यापक उद्धव सिग्देलले यसलाई नेपालको जनसङ्ख्या र विकासका मुद्दाहरूलाई विश्वव्यापी मञ्चमा प्रस्तुत गर्न ठूलो अवसरका रूपमा लिएको उल्लेख गरे। यसबाट भविष्यमा जनसङ्ख्या नीतिको निर्माणमा ठोस मार्गनिर्देशन प्राप्त हुने उनको विश्वास छ।
पत्रकार सम्मेलनका क्रममा मिडिया नेटवर्किङ कमिटीका संयोजक चेतन अधिकारीले जनसङ्ख्याको क्षेत्रमा देखिएका चुनौतीहरूको समाधानका लागि यो सम्मेलन प्रभावकारी हुने आशा व्यक्त गरे। नेपाल जनसंख्या संघका अध्यक्ष पद्म प्रसाद खतिवडाले सम्मेलनलाई नेपालको जनसङ्ख्या व्यवस्थापनका वर्तमान चुनौतीहरूको समाधानका लागि उपयोगी हुने अवसरका रूपमा लिइनुपर्ने बताए।
चार दिनसम्म सञ्चालन हुने यस सम्मेलनमा करिब ५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सहभागीहरूका लागि दर्ता शुल्क ७, १० र १३ हजार रुपैयाँ निर्धारण गरिएको छ। जुन अनिवार्य रूपमा तिर्नुपर्नेछ।



