२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

संकटको समयमा नर्स बिमलाको सक्रियता, ५ हजारलाई स्वास्थ्य सेवा

images

  • २०८१ असोज १८, शुक्रबार
  • 1.7K
    SHARES
  • संकटको समयमा नर्स बिमलाको सक्रियता, ५ हजारलाई स्वास्थ्य सेवा

    काठमाडौं: विद्यालय स्वास्थ्य नर्स बिमला हायू अहिले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित रोशी माध्यमिक विद्यालयमा कार्यरत छिन्। विद्यालय बीपी राजमार्गको छेउमै पर्ने भएकाले बिमलाले असोज ११ गतेदेखि लगातारको वर्षाले निम्त्याएको बाढीपहिरोको मारमा परेका घाइतेहरूको उपचारमा विशेष भूमिका निर्वाह गरिन्।

    असोज १३ गते दिउँसो बिमलाले नमोबुद्ध ७ भकुण्डेबेसी चोकमा बाढीपहिरोका घाइतेहरू आकस्मिक रूपमा आइरहेको देखिन्। त्यहाँ केही स्वास्थ्यकर्मीहरू स्वयंसेवकको रूपमा घाइतेहरूको उपचारमा जुटिरहेका थिए। बिमलाले आफ्नो परिचय दिएर उनीहरूसँगै सेवामा खटिइन्।

    आकस्मिक परिस्थितिमा स्वास्थ्य सेवा
    बिमलाले भने “राजमार्गमा बाढीले ठूलै क्षति पुर्‍याएको थियो। त्यहाँ केही स्वास्थ्यकर्मीहरू घाइतेहरूको उपचार गरिरहेका रहेछन्। मैले पनि आफू स्वास्थ्यकर्मी भएकाले सेवा दिन थालेँ।”

    सुरुवाती रूपमा उनीहरूसँग सीमित औषधि थिए तर बिमलाले आफ्नै पहलमा केही अतिआवश्यक औषधिहरू किनेर ल्याइन्। यसले अरूले पनि सहयोग गर्न प्रेरित गर्‍यो र आवश्यक औषधिहरू नजिकका अस्पताल तथा नगरपालिकाबाट मगाइयो।

    मध्यरातसम्म उपचार सेवा
    दिनभरि घाइतेहरूको चाप बढ्दै गयो। बिमलाको समूहले दिउँसो ३ बजेदेखि रातको १२ बजेसम्म मैनबत्तीको उज्यालोमा निरन्तर उपचार सेवा प्रदान गर्‍यो। “हामीले ४-५ हजारजति मानिसहरूलाई सामान्य स्वास्थ्य सेवा दिएका थियौँ” बिमलाले बताइन्। गम्भीर अवस्थाका बिरामीहरूलाई भने मेथिनकोट प्रादेशिक अस्पताल र निजी अस्पतालहरूमा रेफर गरिएको थियो।

    स्थानीय सहयोगको भूमिका
    घाइते यात्रुहरूका लागि स्थानीय उद्यमी,व्यवसायी र नगरपालिकाले खाद्यान्न तथा बस्नको लागि  व्यवस्था मिलाएका थिए। बिजुली नहुँदा जेनेरेटरको सहायतामा इन्टरनेट र टेलिफोन सेवाको अस्थायी व्यवस्थापनसमेत गरियो। करिब ५ हजार मानिसका लागि खानेकुरा र बासको व्यवस्था गरिएको थियो।

    महान अवसरको अनुभूति
    आफ्नो जन्मदिनको दिन बाढीपहिरोमा परेका घाइतेहरूको सेवा गर्न पाउँदा बिमलालाई आत्मसन्तुष्टि मिलेको छ। “विपत्तिका बेला जनताको सेवा गर्न पाउँदा गर्वको अनुभूति भयो” उनले भनिन्। साथै यस्तो विपत्तिमा सरकारी निकाय र स्थानीय स्वास्थ्यकर्मीहरूको सक्रियता अझ प्रभावकारी बनाउनुपर्ने उनले जोड दिइन्।

    अपील
    बिमलाले काभ्रेपलाञ्चोकका दुर्गम स्थानहरूमा अझै पनि बिजुली र संचार अवरुद्ध रहेकाले त्यहाँका स्थानीयहरूको अवस्था बुझ्न र आवश्यक सहयोग गर्न सम्बन्धित निकायलाई अपील गरिन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ