काठमाडौँ : दशैंको लागि यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ रोक्ने तयारी गरिरहेका छन्। हालको वर्षातका कारण देशका अधिकांश राजमार्ग र सडक भत्किएका छन्। जसले गर्दा यात्रा कष्टकर बनाइरहेको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार, यो अवस्थामा यात्रुलाई गन्तव्यमा लैजान कुनै हालतमा सम्भव हुने छैन। उनले भने, “विषम परिस्थितिमा वर्षा लगायतका कारण राज्यले व्यवस्थापन गर्न सकेको छैन। विपी राजमार्ग ठप्प। जहाँ ६०० सवारी साधन रोकिएका छन्। चालकले खान नपाएको भन्दै मलाई फोन गरिरहेका छन्। दुवै तर्फ पहिरो खसेको। जसले गाडीहरूलाई जोखिमपूर्ण अवस्थामा अड्काइरहेको छ। हामीले खाना नै पुर्याउन सकिरहेका छैनौं। सरकार पनि सक्ने गरेको छैन । तेसैले गाडी कसरी चलाउन सकिन्छ?”
नागढुङ्गाबाट बाहिर जानका लागि चार दिनअघि गाडी पठाइएका थि। तर जाम निरन्तर रहेको छ। धादिङ र दाउन्नेमा पहिरो खसिरहेको र देशभरका सडकहरू अस्तव्यस्त भएका कारण समस्या ठूलो छ। उनले थपे, “वर्षा हुने सम्भावना रहेकाले बीचमा रोकिएका गाडी र यात्रु जोखिममा पर्नेछन्। त्यसको जिम्मा कसले लिन्छ?” उनले भने यदि गाडी समयमा आउन सकेन भने यात्रुको पैसा फिर्ता गर्नेछन्।
सिटौलाले सरकारलाई विपत्तिको संकटग्रस्त क्षेत्रको घोषणा गर्न ढिला गर्न नहुने सुझाव दिएका छन्। “मान्छेको ज्यान बचाउन राज्यले ध्यान दिनुपर्छ। दशैंपछि पनि मनाउन सकिन्। त्यसैले अहिले ख्याल गर्नुपर्ने छ,” उनले भने।
असोज ११ गतेदेखि काठमाडौंको नागढुङ्गा हुँदै जाने सवारी साधन गन्तव्यमा जान सकेका छैनन्। सामान्य रूपमा सडकमा खसेको पहिरो हटाएर सवारी साधन कछुवाको गतिमा चल्न थालेपछि असोज १४ गते दिउँसो रात्रिकालीन सवारीसाधन काठमाडौंबाट छुटाउन थालिएको थियो।
यद्यपि, राजमार्गमा सुस्त गतिमा मात्रै सवारी साधन चल्न सक्ने अवस्थामा यातायातको चाप अत्यधिक छ। चालकको ‘ओभरटेक’ गर्ने पुरानै नराम्रो बानीले गर्दा सडक खुले पनि जामको समस्या कायमै छ। बीचबीचमा पुनः पहिरो खस्ने क्रम जारी रहँदा र एकतर्फी सडकका कारण जाम थपिएको छ।
सडक यात्रा जोखिमपूर्ण हुँदा अहिले हवाई यात्रुको सङ्ख्या वृद्धि भएको छ। नारायणगढबाट बुटवल हुँदै जाने सडकको दाउन्ने खण्डमा सडक भाँसिएको छ र उक्त खण्ड पूर्णरूपमा बन्द भएकोले सवारीसाधनको चाप थपिएको छ। बीपी राजमार्ग पनि क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ।
काठमाडौं–नारायणगढ सडकका दर्जनौं ठाउँमा भत्किएको सडकले गाडीको अत्यधिक चापका कारण राम्री सवारीसाधन सञ्चालन गर्ने अवस्था छैन। नेपाल प्रहरीका सहायक प्रवक्ता विश्व अधिकारीका अनुसार, सामान्य पानी परेमा यातायात पूर्णरूपमा अवरुद्ध हुने अवस्था छ।
समयमै गन्तव्यमा यातायातका साधन जान नसकेपछि यातायातको ‘चेन ब्रेक’ हुने अवस्थाले यात्रुको चाप बढाउने, यातायात अव्यवस्थित हुने, यात्रुको तँछाडमछाड हुने र दशैंसम्म यात्रा कष्टकर हुन सक्ने देखिएको छ। यातायात व्यवस्था विभागले असोज १४ गतेदेखि देशभर बाटो इजाजत खुला गरेकाले गाडीको चाप झन् बढ्न थालेको छ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले पानी पर्दै नपरेको खण्डमा दशैं आसपाससम्म यातायात पूर्णरूपमा सहज पार्ने प्रयास जारी रहेको बताए। उनले भने “प्राथमिकताका आधारमा अत्यावश्यक र यात्रुवाहक साधनलाई पठाउने गरिएको छ। खाद्यान्न र इन्धनलगायतका अत्यावश्यक सवारी साधनलाई प्राथमिकतामा राखेर व्यवस्था भइरहेको छ।”
प्रवक्ता तिवारीका अनुसार, केही ठाउँमा पहिरो गएको र झ्याप्ले खोलामा पनि एकतर्फी समस्या भएको छ। दाउन्नेमा एकतर्फी सडक खुलाइसकेका कारण यातायात आवागमन सहज बन्दै जाने उनले बताए।
यातायात क्षेत्रका विज्ञ आशिष गजुरेलका अनुसार, हालको अवस्थामा यातायात सहज बनाउन सकिन्छ भने सहज बनाउनु पर्ने तर अवस्था जटिल भएको बताएका छन्। उनले भने, “कहाँ-कहाँ व्यवस्थापन गर्न सकिन्छ र सुधार गर्न सकिने ठाउँमा सुधार गर्नुपर्छ। तत्काल व्यवस्थापन गर्न नसकेमा बन्द गर्नुपर्छ। दशैं छ भनेर जोखिममा यात्रा गराउनु हुँदैन।”
सडकमा पहिरो खस्ने र ढुङ्गा खस्ने क्रम जारी रहेको उल्लेख गर्दै उनले सुधार गरेर सञ्चालन गर्दा जोखिम छैन भन्ने क्षेत्रहरूमा मात्र सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन्।
गजुरेलले भने, “दशैंमा यात्रुको चाप छ भनेर ज्यानको जोखिम राखेर सवारी साधन सञ्चालन गर्नु हुँदैन। सरकारले पनि जोखिम छ भनेर यकिन भएको ठाउँमा गाडी जान रोक्नुपर्छ।”



