काठमाडौँ : पृथ्वी राजमार्ग अन्तर्गत झ्याप्ले खोलामा आएको पहिरोले पुरिएका सवारी साधनहरूबाट २ दिनमा जम्मा २९ वटा शव निकालिएको छ। शनिबार साँझसम्म बस र माइक्रोबसबाट १४ वटा शव फेला पारिएको थियो भने आइतबार थप १५ वटा शव निकालिएको छ। आइतबार उद्धार गरिएका १५ शवमध्ये ११ जना पुरुष र ४ जना महिला रहेको प्रहरीले जनाएको छ।
उद्धार कार्य अझै जारी रहेको छ। तर अधिकांश शवहरूको पहिचान हुन सकेको छैन। गोरखाबाट काठमाडौं आउँदै गर्दा सम्पर्कविहीन भएको बस पनि यही पहिरोमा पुरिएको हुनसक्ने अनुमान उद्धार टोलीले गरेको छ।
झ्याप्ले खोलामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, र नेपाली सेनाको टोली निरन्तर उद्धारमा खटिएको छ। अविरल वर्षाको कारण देशभर बाढीपहिरोमा परी मृत्यु हुनेहरूको संख्या सय भन्दा बढी पुगेको छ भने दर्जनौं मानिस अझै बेपत्ता रहेका छन्।



