काठमाडौँ : अविरल वर्षासँगै आएको बाढी र पहिरोले १११८ मेगावाटका विभिन्न सरकारी तथा निजी जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको छ।इप्पानका अनुसार निर्माणाधीन र निर्माण सम्पन्न १७ जलविद्युत् आयोजनामा उल्लेखनीय क्षति भएको छ।
प्रभावित आयोजनाहरू :
माथिल्लो तामाकोसी जलविद्युत आयोजना (सरकारी ) : ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना बाढीबाट प्रभावित भएको छ। बाँध क्षेत्रका संरचना, नियन्त्रण कक्ष, बालुवा थिग्राउने पोखरी, र बाँधको नहरमा ठूलो क्षति पुगेको छ।
बागमती साना जलविद्युत आयोजना : २२ मेगावाट क्षमताको यस आयोजना बाढीका कारण पूर्ण रूपमा प्रभावित भएको छ। पावरहाउस डुबानमा परेको छ।
तल्लो हेवाखोला जलविद्युत आयोजना : पाँचथरमा रहेको २२.१ मेगावाटको तल्लो हेवाखोला जलविद्युत आयोजना पनि बाढीले पावरहाउस डुबानमा पुर्याएको छ। गत वर्ष पनि यस आयोजना बाढीबाट प्रभावित भएको थियो।
हेवाखोला जलविद्युत आयोजना (पाँचथर) : १४.९ मेगावाटको यस आयोजना पनि भारी क्षतिग्रस्त भएको छ। यस आयोजनालाई पुनःनिर्माण गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको बेला फेरि क्षति पुगेको हो।
सोलु दुधकोशी जलविद्युत आयोजना : ८६ मेगावाटको यस आयोजनाको हेडवर्क्समा क्षति पुगेको छ, जसका कारण विद्युत उत्पादन बन्द छ।
माइखोला क्यासकेड जलविद्युत आयोजना : ३ मेगावाट क्षमताको यो आयोजनाको बाँध र टेलरेसमा क्षति पुगेको छ, जसले गर्दा उत्पादन बन्द भएको छ।
माइखोला जलविद्युत आयोजना : ९.६ मेगावाटको यो आयोजनाको बाँध र प्रसारण लाइनमा क्षति पुगेको छ।
फेमे खोला जलविद्युत आयोजना : १ मेगावाट क्षमताको यो आयोजनाको बाँध र विद्युतगृह पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
सिउरी खोला जलविद्युत आयोजना : ५ मेगावाट क्षमताको यस आयोजनाको टेलरेस, इन्टेक र टनेलमा क्षति पुगेको छ।
सुपर न्यादी जलविद्युत आयोजना : ४० मेगावाटको सुपर न्यादी आयोजनाको पहुँचमार्ग र प्रोटेक्सन वालमा बाढीका कारण ठूलो क्षति भएको छ।
इलेप खोला तातोपानी जलविद्युत आयोजना : २५ मेगावाटको यो आयोजनाको पहुँचमार्गमा भारी क्षति पुगेको छ।
माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना : २१६ मेगावाटको यस आयोजनाको क्याम्प हाउस, पहुँचमार्ग, र ३ वटा कन्टेनर बाढीले बगाएको छ।
हेवाखोला जलविद्युत आयोजना (१० मेगावाट) : क्रसर पुरिएको, पहुँचमार्गमा क्षति, प्रसारण लाइनको टावर ढलेको, र पावरहाउसमा जडान गर्न ल्याइएका सामाग्री बगाएको छ।
सभाखोला बी जलविद्युत आयोजना : १५.१ मेगावाटको यस आयोजनाको पावरहाउस पुरिएको, बाँधमा क्षति पुगेको, र अस्थायी पुल बगाएको छ।
सभाखोला सी जलविद्युत आयोजना : ६.३ मेगावाटको सभाखोला सी आयोजनाको पहुँचमार्गमा क्षति भएको छ।
लान्द्रुक मोदी जलविद्युत आयोजना : ८६.५९ मेगावाटको यो आयोजनाको पहुँचमार्गमा क्षति पुगेको छ।
सुपर त्रिशूली जलविद्युत आयोजना : १०० मेगावाटको सुपर त्रिशूली आयोजनाको २ वटा स्काभेटर, २ वटा लोडर, ३ वटा ट्रिपर बगाएको छ भने बेलीब्रिज र पावर हाउस स्काभेसनमा पनि क्षति पुगेको छ।
हालसम्म यस क्षतिबाट प्रभावित आयोजनाहरूको विवरण संकलन भइरहे पनि थप जानकारी आउन बाँकी रहेको इप्पानले जनाएको छ।



