काठमाडौँ : चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालका जीवन बीमा कम्पनीहरूको व्यवसाय ३० अर्ब रुपैयाँभन्दा माथि पुगेको छ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, चालु आर्थिक वर्षमा जीवन बीमा व्यवसाय ३.२९ प्रतिशतले वृद्धि भई ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा यो व्यवसाय २९ अर्ब १२ करोड ९८ लाख रुपैयाँ थियो।
नेपाल लाइफ कम्पनीले सबैभन्दा धेरै व्यवसाय गरेको छ। साउन र भदौ महिनामा कम्पनीले ९ अर्ब ३ करोड ७३ लाख रुपैयाँको बीमाशुल्क सङ्कलन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा १२.८० प्रतिशतले वृद्धि हो।
सर्वाधिक व्यापार वृद्धिमा सिटिजन लाइफ र रिलायबल नेपाल लाइफ अग्रस्थानमा छन्। सिटिजन लाइफको व्यवसाय २६.३८ प्रतिशतले बढेर १ अर्ब २७ करोड रुपैयाँमा पुगेको छ भने रिलायबल नेपाल लाइफको व्यवसाय २६.५४ प्रतिशतले वृद्धि भई ८५ करोड ४७ लाख रुपैयाँमा पुगेको छ।
अन्य कम्पनीहरूमध्ये, नेशनल लाइफको व्यापार २३ प्रतिशतले बढेर ३ अर्ब ५८ करोड, एलआईसी नेपालको ७.९७ प्रतिशतले बढेर ३ अर्ब ३० करोड, हिमालयन लाइफको ४.८५ प्रतिशतले बढेर ३ अर्ब १० करोड र सूर्य ज्योति लाइफको व्यापार १९ प्रतिशतले बढेर १ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ।
तर, राष्ट्रिय बीमा कम्पनीको व्यापार भने ७० प्रतिशतले घटेर १ अर्ब ६ करोडमा सीमित भएको छ।



