काठमाडौँ : आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले आज घरेलु टोली क्यानडासँग दोस्रो खेल खेल्दै छ। खेल नेपाली समयअनुसार राति पौने ९ बजे किंग सिटी मैदानमा सुरु हुनेछ। नेपालले यसअघि क्यानडासँग पहिलो खेलमा फराकिलो अन्तरले हार बेहोरेको थियो भने ओमानसँगको खेलमा पनि एक विकेटले पराजित भएको थियो।
पहिलो खेलमा क्यानडासँगको हारपछि नेपालले ओमानविरुद्ध केही खेलाडी परिवर्तन गरेको भए पनि सफलता हात पार्न सकेन। नेपालका युवा अलराउन्डर गुलशन झाले उत्कृष्ट प्रदर्शन गर्दै एकै खेलमा ५ विकेट लिने र अर्धशतक बनाउने कीर्तिमान बनाए।
नेपालले लिग २ मा अपेक्षाकृत कमजोर प्रदर्शन गरिरहेको छ। ७ महिनाअघि घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजमा पनि नेपालले तीनै खेलमा पराजय बेहोरेको थियो। अहिले क्यानडा भ्रमणका क्रममा नेपालले घरेलु टोली क्यानडा र ओमानसँग एक/एक खेल हारिसकेको छ।
आजको खेलमा जित हात पार्दै नेपाललाई लिगमा पुन: फर्किने मौका छ। नेपालले क्यानडाविरुद्धको दोस्रो खेलमा केही खेलाडी परिवर्तन गर्नसक्ने सम्भावना रहेको छ। क्यानडासँगको खेलपछि नेपालले ओमानसँग अन्तिम खेल खेल्नेछ। जुन असोज ८ गते साँझ पौने ९ बजे हुनेछ।
ओडीआई सिरिजपछि नेपालले क्यानडा र ओमानसँग टी-२० सिरिज पनि खेल्नेछ। त्यसपछि सम्भावित दुई एकदिवसीय अभ्यास खेल खेल्ने योजना रहेको छ। सिरिज समाप्त भएपछि नेपाल लिग २ का लागि अमेरिका जानेछ। जहाँ अमेरिका, स्कटल्यान्ड र नेपालको त्रिकोणात्मक तथा टी-२० आई सिरिज हुनेछ।



