काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो २ महिनामा मेची भन्सार कार्यालयद्वारा २ अर्ब ४२ करोड ९ लाख ९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। उक्त राजस्व सङ्कलन कार्यालयको वार्षिक लक्ष्यको १३.९६ प्रतिशत हो।
भन्सार अधिकृत एवं सूचना अधिकारीका अनुसार यस वर्षको लागि मेची भन्सार कार्यालयले कुल १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ। गत साउन र भदौमा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट आएको छ। जसबाट १ अर्ब ३८ करोड ३९ लाख ४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको हो।
गत आर्थिक वर्ष २०८०/८१ मा कार्यालयले १८ अर्ब २५ करोड ७८ लाख ६८ हजारको लक्ष्य राखेको थियो। जसमा ७८.४ प्रतिशत मात्र पूरा गर्न सफल भएको थियो। गत आर्थिक वर्ष २०८०/८१ को राजस्व सङ्कलनलाई मध्ये नजर गर्दै यस चालु आवमा ९१ करोड ३२ लाख ४३ हजार रुपैयाँले राजस्व लक्ष्य घटाएको छ।