काठमाडौँ : सन २००० मा स्थापना भएको वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिको व्यापारमा विगत चार वर्षदेखि निरन्तर गिरावट देखिएको छ। कम्पनीले सन् २०२१ मा २ अर्ब ९९ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो। यो घटेर सन् २०२२ मा २ अर्ब ४९ करोड ९० लाख र सन् २०२३ मा २ अर्ब १२ करोड २० लाखमा सीमित भएको थियो।
सन् २०२४ को सुरुवाती ९ महिनामा कम्पनीको व्यापारमा झन् कमी आएको छ। यस वर्षको कारोबार १ अर्ब १९ करोड रुपैयाँमा मात्र सीमित छ। वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिको उद्योग रुपन्देही जिल्लाको गोनाहामा रहेको छ ।
वृज सिमेन्टले १२ सय टन प्रतिदिनको ग्राइन्डिङ क्षमता पाएको छ। जसमा केडिया समूहको ५०% र भारतीय कम्पनी शान्ता सिमेन्ट प्रालिको बाँकी ५०% स्वामित्व रहेको छ। कम्पनीले ओपिसि, पिपिसी, र पीएससी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ।
उद्योगले हाल ८९ करोड ५३ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ पाएको छ। रेटिङ एजेन्सी इक्रा नेपालले २८ अर्ब ५४ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि एल बि प्लस र ६० करोड ९९ लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ।



