काठमाडौँ : नेपालका सबै सात प्रदेशहरूमा अब क्यान्सर उपचार सेवा विस्तार गरिएको छ। यो महत्वपूर्ण निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आफ्नो मन्त्री पदको पहिलो निर्णयको रूपमा असार ३१ गते गरेका थिए। उनी मन्त्री बनेको दुई महिनाभित्र उक्त निर्णय कार्यान्वयनमा आएको हो।
मन्त्री पौडेलले क्यान्सर नियन्त्रण रणनीति २०३० स्वीकृत गर्दै क्यान्सर उपचार सेवाहरूलाई देशभर विस्तार गर्न थालेका थिए। सोमबार गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मन्त्री पौडेलको उपस्थितिमा भरतपुर क्यान्सर अस्पतालमार्फत क्यान्सर उपचार सेवा विस्तार गरिएको छ। जससँगै अब देशका सातै प्रदेशहरूमा क्यान्सर उपचार सेवाहरू उपलब्ध छन्।
यसअघि बागमती प्रदेशअन्तर्गत भक्तपुर र भरतपुर तथा लुम्बिनीको नेपालगञ्जमा रहेको क्यान्सर उपचार सेवा दुई महिनाको अवधिमा थप ५ प्रदेशमा पुगेको हो। जसमा कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको वीरगन्ज, गण्डकीको पोखरा, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा क्यान्सर उपचार सेवा विस्तार गरिएको छ।
क्यान्सर उपचार सेवाको विस्तारमा विभिन्न अस्पतालहरूसँग सम्झौतासमेत गरिएको छ। भक्तपुर क्यान्सर अस्पतालमार्फत कोशी प्रदेशको विराटनगर र मधेश प्रदेशको वीरगन्ज, बीपी कोइराला मेमोरियल क्यान्सर भरतपुरमार्फत गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल, र सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा क्यान्सर सम्बन्धी परीक्षण र उपचार सेवाहरू प्रदान गरिनेछन्।
मन्त्री पौडेलले यसअघि सार्वजनिक गरेको योजनामा क्यान्सर उपचार सेवाको विस्तारको उल्लेख गर्दै अबको चरणमा मानव अंग प्रत्यारोपण र मुटुको उपचार सेवासमेत विस्तार गर्ने योजना रहेको बताएका छन्। संघीय क्यान्सर अस्पतालको सेवा विस्तारले स्वास्थ्य सेवामा खर्च र समय बचत हुने आशा गरिएको छ। स्याटेलाइट क्लिनिक र दक्ष जनशक्तिको प्रयोगबाट विस्तारित अस्पतालमा उच्च गुणस्तरीय सेवा प्रदान गर्ने योजना बनाइएको छ।
यसअघि संघ मातहतका तीन मात्र अस्पतालहरूले क्यान्सर उपचार सेवा उपलब्ध गराउँदै आएका थिए।



