काठमाडौँ : आँखुखोला जलविद्युत कम्पनीको हकप्रद शेयरमा आवेदन दिने म्याद आज आइतबार अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम चुक्तापूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको हो। कम्पनीको चुक्तापूँजी ८० करोड रुपैयाँ छ भने हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापूँजी २ अर्ब रुपैयाँ पुग्नेछ।
कम्पनीले हकप्रदपछि प्राप्त हुने रकममध्ये ८० करोड रुपैयाँ गणेश हिमाल हाइड्रोपावर कम्पनीद्वारा प्रबर्द्धित आँखुखोला २ जलविद्युत आयोजनामा कम्तीमा ६० प्रतिशत शेयर स्वामित्व हुने गरी स्वपूँजी लगानी गर्नेछ भने बाँकी ४० करोड रुपैयाँ बैंकबाट लिएको दीर्घकालिन ऋणको आंशिक भुक्तानी गर्न प्रयोग गर्ने बताएको छ।
कम्पनीको हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ्ग बी माइनस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
शेयर किन्न इच्छुकले बिक्री प्रबन्धक रहेको नबिल इन्भेष्टमेन्ट बैंकिङ, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयका साथ आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्। शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग हो।



