काठमाडौं : सुदूरपश्चिमको मौलिक पर्व गौरा आज (शनिबार) देखि विधिवत् रूपमा सुरु भएको छ। पञ्चमीदेखि सुरु हुने यो पर्वको शनिबार पहिलो दिन घरघरमा बिरुडा राखिँदैछ। आजको दिनलाई बिरुडा पञ्चमीसमेत भन्ने गरिन्छ।
व्रतालु महिलाहरूले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गरिन्छ। तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिंगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौं, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा बनाउने चलन छ।
बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ। गौरादेवीको पूजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ। पुत्रदा एकादशीको व्रत बसिसकेपछि भाद्र महिनाको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रूपमा सुरु गरिन्छ ।



