काठमाडौँ : त्रिभुवन विश्वविद्यालय रत्न राज्यलक्ष्मी क्याम्पसको ६४औँ वार्षिक उत्सव एक कार्यक्रमका बिच सफलताका साथ सम्पन्न भएको छ। क्यापस प्रमुख प्रा. डा. जीवनधर ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पसको गतिविधि बारे जानकारी गराउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन प्रा. डा. कुसुम शाक्यले मानविकी संकायको उदहारणीय क्याम्पसका रूपमा रहेको यस क्याम्पसले धेरैभन्दा धेरै विषयमा अध्यापन गराइरहेको सन्दर्भमा स्नातकोत्तर तहमा अध्यापन गर्न चाहेका विषयहरू आम संचार तथा पत्रकारिता, संगीत र MCA कार्यक्रम संचालन गर्ने कुरामा सकरात्मक रहेको र यसमा सहयोग रहने प्रतिबद्धता जनाउनु भयो।
अतिथिहरूमा नेपाल प्राध्यापक संघका महासचिव नरेन्द्र शिवाकोटी, पूर्व क्याम्पस प्रमुखहरू रामप्रसाद भट्टराई, सुनिल कुमार पौडेल, प्रा.डा. रुद्र प्रसाद पौडेल, डा. निर्मला कुमारी सुवाल प्राध्यापक संघ आर. आरका एकाइ सभापति डा. विनोद मंजन, कर्मचारी संघ एकाइका सभापति मन्दिरा बुढाथोकी, RMC का संयोजक नवराज थापा, प्रजातन्त्रवादी प्राध्यापक संघका सभापति डा. रवीन्द्र न्यौपाने, प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष ज्ञानेश्वर निरौला, स्वतन्त्र विद्यार्थी युनियनका पूर्व सभापति राज कुमार राई, निवर्तमान सभापति तपेन्द्र जंग शाही, पुरस्कार दाता डा. विनुबाबा अर्याल तथा विभिन्न विद्यार्थी संघ संगठनका प्रतिनिधिहरू, प्राध्यापक, कर्मचारीज्यूहरू रहनुभएको थियो।
उक्त कार्यक्रममा सेवा निवृत्त र योगदानका आधारमा प्राध्यापक र कर्मचारीलाई सम्मान गरिएको थियो भने विभिन्न विषयमा उत्कृष्ट अंक ल्याई प्रथम हुनुहुने विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र र नगद सहित सम्मान गरिएको थियो साथै क्याम्पसका तर्फबाट सहभागी भई भीसी कप विजेता भलिबल टिम, हाजिरी जवाफ प्रतियोगीता टिमका साथै विश्वको उच्च सिखर सगरमाथामा आर आर क्याम्पसको झन्डा फहराउने आरोही विद्यार्थी दीपन गुरुङ्गलाई पनि सम्मान गरियो ।
क्याम्पस दिवसका अवसरमा आयोजित प्राध्यापक, कर्मचारी र विद्यार्थी बीच सम्पन्न भलिवल प्रतियोगिताका विजयी विद्यार्थी टीमलाई मेडल तथा प्रमाणपत्र प्रदान गरियो। कार्यक्रमा संगीत विभागका विद्यार्थीहरूले साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
सन्ध्याकालीन सत्रका सहायक क्याम्पस प्रमुख प्रमिला विडारीले संचालन गर्नुभएको कार्यक्रममा बिहानी सत्रका क्याम्पस प्रमुख रवीनदास श्रेष्ठले गर्नुभएको थियो। क्याम्पस दिवसका अवसरमा २०८१ भदौ ५ गतेका दिन स्थानीय बिदा राखिएकोले पठनपाठन तथा क्याम्पस प्रशासन बन्द रहने छ भने विभिन्न विभागका आन्तरिक मूल्याङ्कन परीक्षाहरू यथावत संचालन हुनेछन्।
कार्यक्रमका केही झलकहरू :









