काठमाडौं : चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा दिन नपाउने विद्यार्थीहरूको पैसा फिर्ता गर्ने भएको छ । कक्षा १२ को नतिजा प्रकाशन नहुँदै फाराम भरेको र नतिजामा नन ग्रेडेड (एनजी) आएका विद्यार्थीहरूले तिरेको शुल्क फिर्ता गर्ने भएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा आयोगले एनजी आएर आयोगको परीक्षा दिन नपाउने विद्यार्थीले तिरेको आवेदन शुल्क फिर्ता गर्न निर्देशन दिएको थियो । सोही आधारमा आयोगले एनजी आएर प्रवेश परीक्षा दिनबाट वञ्चित हुने विद्यार्थीको आवेदन शुल्क फिर्ता गर्न लागेको आयोगले जनाएको छ ।
भदौ १ गतेदेखि आयोगले दिने एकीकृत प्रवेश परीक्षा हुँदैछ । त्यसका लागि गत जेठ २८ गते नै सूचना जारी गरेको परीक्षाका लागि आवेदन आह्वान गरेको थियो । त्यसमा ५१ हजार ७०० विद्यार्थीले आवेदन फारम भरेका थिए ।
तीमध्ये दुई हजारभन्दा बढी विद्यार्थीको कक्षा १२ को नतिजा एनजी आएको देखिएको थियो । नतिजा एनजी आएका विद्यार्थीहरूले प्रवेश परीक्षा दिन नपाउने आयोगले जनाएको छ ।



