काठमाडौं :उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीति ल्याउन हस्तक्षेप नगरेको बताउनु भएको छ ।
शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का पदाधिकारीहरुसँगको भेटमा राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा अर्थमन्त्रालयले हस्तक्षेप गर्न नमिल्ने बताउनु भएको हो ।
उहाँले मौद्रिक नीति राष्ट्र बैंकको क्षेत्राधिकारभित्रको विषय भएकाले अर्थमन्त्रालयले हस्तक्षेप गर्न नमिल्ने बताउनु भयो । राष्ट्र बैंकले राम्रो मौद्रिक नीति ल्याउने तयारी गरेकाले शुक्रबार रोकिएको जानकारी आएको उहाँको भनाई छ ।
उहाँले राष्ट्र बैंकले छिट्टै राम्रो मौदिक नीति ल्याउने विश्वास रहेको उल्लेख गर्दै राष्ट्र बैंक स्वायत्त संस्था भएकाले क्षेत्राधिकार प्रयोग गर्ने विषयमा हस्तक्षेप हुनुहुँदैन भन्ने आफ्नो मान्यता रहेको बताउनु भयो ।
यस्तै उहाँले सहकारी क्षेत्रमा समस्या लामो समयदेखि झाँगिदै जाँदा अहिले बाहिर आएको र सहकारीमा समस्या आयो भन्दैमा सहकारी चाहिँदैन भन्ने ठाउँमा पुग्न नहुने बताउनु भयो।
उहाँले समस्याको गहिराइमा गएर सरकारले सहकारीका समस्या समाधान गर्ने बताउदै बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको बचत संरक्षण गरी समस्या समाधान गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नु भयो ।



