काठमाडौँ : नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा सामान्य गिरावट आएको छ।
गत वर्षको तेस्रो त्रैमाससम्म बैंकले ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो भने यस वर्ष ८.७६ प्रतिशत घटेर ४ अर्ब ६६ करोड ८० लाख नाफा आर्जन गरेको छ। तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ।
बैंकको तेस्रो त्रैमाससम्म खुद ब्याज आम्दानी बढेको छ। अघिल्लो वर्ष १२ अर्ब १० करोड खुद ब्याज आम्दानी गरेको थियो भने यस वर्ष ३.७२ प्रतिशतले बढेर १२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। बैंकको ब्याज आम्दानी बढेपनि खुद नाफा भने घटेको छ।
बैंकको दोस्रो त्रैमास भन्दा खराब कर्जा अनुपात (एनपीएल) बढेको छ। तेस्रो त्रैमासमा खराब कर्जा १.२७ प्रतिशत पुगेको छ जुन यस दोस्रो त्रैमासमा १.२ प्रतिशत थियो। अघिल्लो वर्ष यस अवधिमा खराब कर्जा (एनपीएल) १.९८ प्रतिशत रहेको थियो।
बैंकको इम्पेयरमेन्ट चार्ज २.८७ प्रतिशतले घटेको छ। तेस्रो त्रैमाससम्म मा बैंकको उक्त चार्ज ३ अर्ब ३३ करोडबाट घटेर ३ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। सञ्चालन नाफा १०.७२ प्रतिशतले घटेर ६ अर्ब ६८ करोड रुपैयाँ कायम भएको छ।
बैंकको वितरण योग्य नाफा १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ। बैंकको जगेडा कोषमा २७ अर्ब ७८ करोड रुपैयाँ रहेको छ भने चुक्ता पुँजी २७ अर्ब ५ करोड रहेको छ। बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) २५.२१ रुपैयाँबाट घटेर २३.२४ रुपैयाँ पुगेको छ। नाफासँगै बैंकको ईपीएस पनि झिनो अंकले घटेको छ।



