लुम्बिनी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्नुभएको छ। मुख्यमन्त्री महराले सात जना विनाविभागीय मन्त्री थप गर्नु भएको हो। अब प्रदेशमा मुख्यमन्त्रीसहित ११ सदस्यीय मन्त्रिमण्डल बनेको छ।
मुख्यमन्त्री महराले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम आज २ चरणमा मन्त्रिपरिषद्मा सात जना थपेर ११ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको हो। नवनियुक्त मन्त्रीहरुमा नेकपा (एमाले)बाट भूमिश्वर ढकाल, अर्जुनकुमार केसी, दिनेश पन्थी र रत्नबहादुर खत्री विनाविभागीय मन्त्री हुनुहुन्छ। यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट धर्मबहादुर चौधरी, नेकपा (एकीकृत समाजवादी)का भगवती अधिकारी र प्रदेशसभामा स्वतन्त्र सदस्य खड्क बस्नेत पनि आजनै विना विभागीय मन्त्री नियुक्त हुनु भएको छ।
नवनियुक्त मन्त्रीहरुलाई आज प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १७२ बमोजिम पद तथा गोपनीयताको सपथ गराउनुभयो।
यसअघि मुख्यमन्त्री नियुक्तिसँगै चैत २५ गते नियुक्त भएका एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य, माओवादी केन्द्रका दीपेन्द्र पुन र जनता समाजवादी पार्टीका भण्डारीलाल अहिरलाई आज नै विभागीय जिम्मेवारी तोक्नुभएको छ। मुख्यमन्त्री सचिवालयका अनुसार आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, पुनलाई स्वास्थ्य र अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी तोक्नुभएको छ।
आज बिहान ६ जना विनाविभागीय मन्त्री नियुक्त गरेको केही समयपछि मन्त्रालय थपेर मुख्यमन्त्री महराले प्रदेशसभामा एक जना मात्र सदस्य रहेको एकीकृत समाजवादीलाई आज नै दोस्रो पटक मन्त्री नियुक्त गर्नुभएको थियो। ५ राजनीतिक दलका ४७ र एक स्वतन्त्र गरी ४८ प्रदेशसभा सदस्यको समर्थनमा गत चैत २३ गते माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्री बन्नुभएको हो।
सपथग्रहण कार्यक्रममा मुख्यमन्त्री महरा, मन्त्रीहरु, प्रदेशसभाका सभामुख तुलबहादुर घर्ती, पूर्वमख्यमन्त्री तथा एमाले संसदीय दलका नेता लिला गिरी, मन्त्री, विभिन्न दलका नेताहरु र उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो।



