काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ३ विकेटले पराजित गरेको छ। अन्तिम बलमा राशिद खानले चौका हानेपछि गुजरातलाई जित दिलाएका थिए। राजस्थानको यो पहिलो हार हो। जितसंगै ५ खेलमा ४ जित सहित राजस्थान शीर्ष स्थानमा छ भने ६ खेलमा ३ जित सहित गुजरात छैठौँ स्थानमा छ।
राजस्थानले दिएको १९७ रनको लक्ष्य गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो। गुजरातका लागि कप्तान शुभमन गिलले सर्वाधिक ७२ रन बनाएका थिए। यस्तै, ओपनर साई सुदर्शनले ३५ रन, विजय शंकर १६ रन, राहुल टेवाटिया २२ रन र राशिद खानले २४ रन बनाएका थिए।
बलिङमा राजस्थानका लागि कुलदीप सेनले ३ विकेट, युजभेन्द्र चहलले २ विकेट तथा आवेश खानले १ विकेट लिएका थिए।
त्यसअघि जयपुरमा टस हारेर पहिला ब्याटिङगरेको राजस्थानले २० ओभरमा ३ विकेट गुमाउँदै १९६ रन बनाएको थियो। राजस्थानका लागि रियान परागले सर्वाधिक ७६ रन बनाएका थिए। यस्तै, सन्जु स्यामसनले ६८ रन, यशस्वी जैसवालले २४ रन तथा शिम्रन हेटमायरले १३ रन बनाएका थिए। तेस्रो विकेटला लागि सन्जु र रियानले १३० रनको सानदार शतकीय साझेदारी गरेका थिए।
बलिङमा गुजरातका लागि उमेश यादव, रासिद र मोहित शर्माले समान १/१ विकेट लिएका थिए।



