काठमाडौँ : मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि पछिल्लो एक वर्षमा उल्लेख्य प्रगति भएको छ। नेपाल र भारतबिच दीर्घकालीन विद्युत् व्यापार सम्झौता, रोकिएका आयोजनालाई गति दिने तथा नयाँ आयोजनाको सुरुवातलगायतका विषयमा भएका प्रगति उल्लेख्य छन्।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा निर्वतमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतको बिदाइका लागि आयोजित कार्यक्रममा मन्त्रालयका सम्बद्ध अधिकारीले एक वर्षमा उल्लेख्य प्रगति भएको बताउनुभयो।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुढी गण्डकी जलविद्युत् आयोजना, माथिल्लो अरुण, दुधकोशी जस्ता आयोजना निर्माण सुरु गर्ने तयारी छ । यस्तै, रानी जमरा कुलरिया सिँचाइ आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। लामो समयसम्म समस्यामा रहेका विद्युत् प्रसारण लाइन समेत निर्माण सम्पन्न भएका छन्। ठुला क्षमताका सवस्टेशनहरु पनि निर्माण सम्पन्न भएका छन्।
विद्युत् विधेयक सङ्घीय संसद्मा पेस भएको छ। मन्त्रालय सम्बद्ध अन्य विधेयकहरू प्रक्रियामा अगाडि बढेका छन्। कानुनी एवम् संरचनागत सुधारमा विशेष ध्यान दिइएको भन्दै ऊर्जा सचिव गोपालप्रसाद सिग्देलले एक वर्षमा उल्लेख्य प्रगति भएको बताउनुभयो।
कार्यप्रतिका हिसाबले पनि यो अवधिमा उल्लेख्य काम भएको जानकारी दिँदै उहाँले तोकिएका लक्ष्य प्राप्तिमा समेत मन्त्रालय अब्बल रहेको बताउनुभयो। जलस्रोत तथा सिँचाइ सचिव सुशील चन्द्र तिवारीले समीक्षा अवधिमा मुलुकको जलस्रोत तथा सिँचाइको क्षेत्रमा परिणाम देखिने गरी काम भएको बताउनुभयो।
जल तथा ऊर्जा आयोगका सचिव सरिता दुवाडीले आयोगलाई गतिशील बनाउनका लागि यस अवधिमा परिणाममुखी र सार्थक काम अगाडि बढेको बताउनुभयो। निर्वतमान ऊर्जा मन्त्री बस्नेतले आफू गैर प्राविधिक मन्त्री भए पनि ऊर्जा, जलस्रोतको क्षेत्रमा सामूहिक रूपमा कार्यसम्पादन गर्ने प्रयत्न गरेको बताउनुभयो। उहाँले मुलुकको समग्र ऊर्जा क्षेत्रको प्रगतिका लागि यस अवधिमा भएका कामलाई थप गति दिन अझै मेहनतको जरुरी रहेको बताउनुभयो।
“केही रणनीतिक महत्वका कामहरू यसबिचमा भएका छन्। त्यसले देश र जनताको हितमा काम गर्नेछ। हामीले यसबाट सार्थक परिणाम प्राप्त गर्नेछौँ”, बस्नेतले भन्नुभयो। उहाँले यस अवधिमा मन्त्रालयको समग्र टोलीबाट आफूले सार्थक सहयोग पाएको बताउनुभयो।
उहाँले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गत चैतमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीको रूपमा कार्यभार सम्हाल्नुभएको थियो।



