असोज ११, काठमाडौं : नेपाल राष्ट्र बैङ्कले कार्तिकको सुरुदेखि नयाँ नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ। राष्ट्र बैङ्कका मुद्रा व्यवस्थापन विभागका निर्देशक वासुदेव भट्टराईका अनुसार दसैँ तिहार चाडपर्वका लागि कार्तिकको सुरुबाट नै नोट सटही सुविधा प्रदान गरिनेछ।
उहाँका अनुसार “गत वर्ष जस्तै यस वर्ष पनि दसैँ, तिहार चाडपर्वका लागि कार्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्नेछौँ।” गत वर्षजस्तै यस वर्ष पनि सर्वसाधारण प्रति व्यक्ति १८ हजार ५ सय रुपियाँ सम्मका नयाँ नोट साट्न पाउनेछन्।
बैङ्कले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट सटही सुविधा प्रदान गरिनेछन्।
गाईको चित्र अंकित चाँदीका सिक्का बिक्री सुरु
नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्र अंकित मेडालियन सिक्काको बिक्री वितरण सुरु गरेको छ। बबरमहलस्थित टक्सार महाशाखाले १० र २५ ग्रामका चाँदीका मेडालियन सिक्का टकमरी गरी बिक्री सुरु गरेको हो । दर उल्लेख नगरी निष्कासित सिक्कालाई मेडालियन भनिन्छ।
१० ग्राम सिक्काको मूल्य १ हजार ६ सय रुपैयाँ र २५ ग्राम सिक्काको मूल्य ४ हजार रुपैयाँ तोकिएको छ। राष्ट्र बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएको महाशाखाले जनाएको छ। दुवै प्रकारका सिक्कामा ९९९ टचको चाँदी प्रयोग गरिएको छ। यो सिक्काको मागलाई हेरेर आगामी समय टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ।



