काठमाडौँ : ग्लोबल आइएमई बैंक लिमिटेडले पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. १२, डेरी बजारमा सोमबारदेखि नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ। यससँगै बैंकको शाखा रहित बैंकिङ्ग सेवाहरूको सङ्ख्या २७५ पुगेको छ।
शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपाने, वडा नं. १२ का अध्यक्ष कमल प्रसाद चापागाईँ तथा बैंकका सहायक महाप्रबन्धक दिलीप पोखरेलले संयुक्त रुपमा गर्नुभएको छ।
शाखा रहित बैंकिङ्ग सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत विभिन्न बैंकिङ्ग सेवा लिन सक्नेछन्। यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी लगायतका सेवा लिन सक्नेछन्।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३५५ शाखा कार्यालय, ३७८ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन्।
‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले ४६ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ।



