काठमाडौँ : आन्तरिक राजस्व विभागका अनुसार विलासिता करबाट ६ महिनामा साढे १० करोड राजस्व सङ्कलन भएको छ। चालु आर्थिक वर्षको माघ महिनासम्म विलासिता करबाट १० करोड ५५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ।
विभागका अनुसार मसिंरमा मात्र २ करोड ४ लाख रुपैयाँ,भदौमा १ करोड २३ लाख, असोजमा १ करोड ६२ लाख र कार्तिक महिनामा १ करोड ७५ लाख रुपैयाँ विलासिता कर सङ्कलन भएको छ। विभागका अनुसार विलासिता कर भने हरेक महिना सकिएपछि मात्र सङ्कलन हुन्छ। विभागका अनुसार पौष र माघ महिनाको भने तथ्याङ्क तयार भई नसकेको जनाएको छ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले चालु आर्थिक वर्षको बजेटमार्फत पहिलो पटक नेपालमा विलासिताको करको व्यवस्था गरेका थिए। सोही अनुसार सरकारले २०८० साउन महिना देखि विलासिताको कर उठाउन थालेको हो।
विभागका अनुसार पाँच तारे र सो भन्दा माथिका होटेल तथा लक्जरी रिसोर्ट, आयातित मदिरामा, १० लाख रुपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गर गहना मार्फत उक्त कर सङ्कलन भएको हो।



