काठमाडौँ : विगत ५ वर्षको अवधिमा ईभीको आयात क्रमिक रूपमा व्यापक उच्च हुँदै गएको देखिन्छ। भन्सार विभागको तथ्याङ्क नेपालमा विद्युतीय सवारी (ई भी)को बजार आक्रामक रूपमा विस्तार भइरहेको छ। नेपालमा कार, जिप र भ्यान मात्रै नभएर बस, मिनी बस, तीन पाङ्ग्रे र दुईपांग्रे विद्युतीय सवारीसाधनको आयातसमेत बढ्दै गएको छ।
चालु आर्थिक वर्ष २०८०/८१ मा भने ईभीको आयात अघिल्ला वर्षको तुलनामा निकै धेरै हुने देखिएको छ। भन्सार विभागका अनुसार ६ महिनामा ५ हजार १ सय ७ वटा ईभी आयात भएका छन्। सरकारले १२ अर्ब ७३ करोड २७ लाख रुपैयाँ बराबरका गाडीबाट ५ अर्ब ६७ करोड ३५ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ। चालु आर्थिक वर्षको ६ महिनामै हाल सम्म वर्ष दिनमा भित्रिए भन्दा धेरै ईभी आयात भइसकेको छ।
आर्थिक वर्ष २०७९/८० मा ४ हजार ५० वटा ईभी आयात भएका थिए। सरकारले ११ अर्ब ८४ करोड रुपैयाँ बराबरका गाडीबाट ३ अर्ब ३० करोड ४४ लाख रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको थियो।
पछिल्ला दुई वर्षको तथ्याङ्कलाई अनुसार ईभीले चाँडै नै पेट्रोलियम सवारीलाई ठुलो मात्रामा विस्थापित गर्ने सङ्केत देखिन्छ। जलवायु परिवर्तनको संकटविरुद्ध जुध्न विश्व जीवाश्म इन्धनबाट स्वच्छ ऊर्जातर्फ अग्रसर भइरहेको छ। त्यसैले विद्युतीय सवारीको उत्पादन र उपभोग विश्वभर नै तीव्र बनेको छ।
आर्थिक वर्ष २०७८/७९ देखि नेपालमा ईभीको एक्कासि उच्च हुँदै १ हजार ८ सय ७ ई भी आयात भएका थिए। सरकारले ५ अर्ब ३२ करोड ५ लाख रुपैयाँ रुपैयाँ बराबरका गाडीबाट १ अर्ब ४३ करोड ९२ लाख रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको थियो।
आर्थिक वर्ष २०७७/७८ मा २ सय ६१ वटा ईभी आयात भएका थिए। सरकारले ६६ करोड ८ लाख रुपैयाँ रुपैयाँ बराबरका गाडीबाट ३४ करोड ४९ लाख रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको थियो।
आर्थिक वर्ष २०७६/७७ मा ५ सय ७५ वटा ईभी आयात भएका थिए। सरकारले १ अर्ब ८७ करोड २२ लाख रुपैयाँ बराबरका गाडीबाट ४५ करोड ३६ लाख रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको थियो।
सरकारले समेत जतिसक्दो चाँडो पेट्रोलियम इन्धनमाथिको निर्भरता घटाउने उद्देश्यले विद्युतीय सवारी साधनको प्रयोग बढाउने लक्ष्य राखेको छ। नेपालले सवारी साधनकै लागि ठुलो मात्रामा जीवाश्म इन्धन आयात गर्दै आएको छ। पछिल्ला वर्षमा ईभीको बजार विस्तारले केही हदसम्म जीवाश्म इन्धनको प्रयोग घटाएर देशभित्रकै विद्युत् खपत बढाउने स्थिति बनाएको छ।



