काठमाडौँ : अधिकांश वाणिज्य बैङ्कहरूले फागुन महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्। बैङ्कहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ०.४१ प्रतिशत विन्दुले घटेको हो।
४ वाणिज्य बैङ्कहरू एभरेष्ट, लक्ष्मी सनराइज , माछापुच्छ्रे र हिमालयन बैङ्कले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिए पनि अरू १६ बैङ्कले घटाउँदा औसत निक्षेप ब्याजदर तल झरेको हो। बैङ्किङ प्रणालीमा अधिक तरलता र कर्जा प्रवाह न्यून भएसँगै बैङ्कहरूले ब्याजदर घटाउँदै लगेका छन्।
माघ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ९ दशमलव १५ प्रतिशतसम्म थियो। फागुनमा भने सोही प्रकृतिको निक्षेपमा अधिकतम ब्याजदर नै ८.५० प्रतिशतमा झरेको छ, जुन ब्याजदर १० वर्षभन्दा माथि अवधिको लागि एनएमबीले प्रकाशन गरेको हो। व्यक्तिगत मुद्दती निक्षेपमा अब कुनै पनि बैङ्कले ८।५० प्रतिशतभन्दा धेरै ब्याज दिने छैनन्।
बैङ्कहरूले गत साउनबाट निक्षेपको ब्याजदरमा गरेको भद्र सहमति खारेज गरेसँगै विविधता देखिएको छ। बैङ्कहरूले आवश्यकता अनुसार ब्याजदर प्रकाशित गरेका हुन्। बढी अवधिको मुद्दती निक्षेपमा बढी र छोटो अवधिको मुद्दती निक्षेपमा कम ब्याजदर रहेको छ। व्यक्तिगत मुद्दतीमा दिएको अधिकतम ब्याजदरको २ प्रतिशत विन्दुभन्दा कम मात्रै संस्थागत ब्याजदर दिन सक्ने व्यवस्था छ। यस अनुरूप अब संस्थाहरूलाई बैङ्कले ६.५० प्रतिशतभन्दा धेरै ब्याजदर दिने छैनन्।
बैङ्कहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकत ब्याजदर घटाएपछि मात्रै बचत र कल निक्षेपको ब्याजदर घटाउन सक्छन्। राष्ट्र बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदर बिचको अन्तर बढीमा ५ प्रतिशत भन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ। यसले गर्दा बचतको ब्याजदर पनि घट्न जानेछ। कल निक्षेपमा बचतको न्यूनतम ब्याजदरको ५० प्रतिशत मात्रै ब्याज दिन पाइने व्यवस्था छ।
राष्ट्र बैङ्कले बैङ्कहरूलाई ब्याजदरमा उतारचढाव कम गर्न भन्दै ब्याजदर निर्धारण गर्ने आधारको रूपमा सोही वर्गको बैंकहहरुले अघिल्लो महिनाको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशत मात्रै तलमाथि गर्न सक्ने व्यवस्था गरेको छ। बैङ्कहरूले साउनदेखि भद्र सहमति खारेज गर्दै आफ्नो रणनीति अनुसार ब्याजदर प्रकाशित गर्दै आएका छन्।
ब्याजदर घट्दै जाँदा निक्षेपकर्ताले मुद्दती निक्षेप नवीकरण नगर्ने र केही समय बचतमा पैसा राख्दा बैङ्कहरूको मुद्दती निक्षेपको हिस्सा घटेर बचतको बढ्न लागेको छ।
नेपाल बैंकर्स सङ्घका अध्यक्ष तथा एनएमबी बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी कर्जा चाहे जति जान नसकेको र अधिकतम तरलता भएकोले ब्याजदर घट्दो क्रममा नै रहेको बताउँछन्। ‘तरलता प्रशस्त छ, कर्जा लगानी गर्ने ठाउँ देखिएको छैन,’ अध्यक्ष केसी भन्छन्, ‘निक्षेप बढी रहेको छ । यस्तोमा ब्याजदर घट्ने नै देखिन्छ।



