काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फरार रहेका सचिव टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको बताएका छन्। शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानबारे छलफल गर्न ओली सिंहदरबार पुगेका थिए ।
भेटपछि सञ्चारकर्मीहरूको प्रश्नमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीको अवस्थाबारे आफू अनभिज्ञ रहेको बताएका हुन् । उनले भने, ‘मेरो सम्पर्कमा हुनुहुन्न । तपाईंहरु नै बताइदिनुस् ।’ अपराधीलाई जोगाउन लाग्नुभएको हो भन्ने प्रश्नमा ओलीले केहीले यस्तो गलत हल्ला चलाएको स्पष्टीकरण दिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीसँग अध्यक्ष ओलीको यो दोस्रो भेट हो । गत बिहीबार पनि दुई नेताबीच यसै विषयमा छलफल भएको थियो । भेटपछि ओलीले निर्दोषलाई फसाउन खोजे नसहने चेतावनी दिएका थिए ।
४ वर्षअघिको कुरा अहिले बाहिर आएको भन्दै ओलीले ‘एउटा सांसद र पार्टीका नेतालाई षड्यन्त्रपूर्ण ढङ्गले किन समाउनुपर्ने अवस्था आयो र’ भन्दै प्रश्न समेत गरेका थिए । ओलीले आफूले यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिएका छन् ।



