भदौ १२,काठमाडौं :प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेतालाई जोगाएर भरियालाई मात्र समातेको भन्दै आपत्ति जनाउनु भएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उहाँले यस्तो आपत्ति जनाउनु भएको हो । उहाँले सरकारले एकातिर सुशासन कायम गर्छौँ, भ्रष्टाचारका फाइल खोलेका छौँ भनेर जनतालाई भन्ने र अर्कोतिर व्यवहारमा सत्तापक्षका भ्रष्टाचार नाइकेहरु, नेताहरूलाई जतिसुकै ठुलो अपराध गरे पनि अनुसन्धानको दायरामा नल्याएकोमा आक्रोश व्यक्त गर्नु भयो ।
प्रमुख सचेतक गिरीले माछा देखे दुलाभित्र हात, सर्प देखे दुलाबाहिर हात भनेझैँ सत्तापक्षका नेताहरू तस्करीमा भेटिए भने उनीहरूलाई छोडिदिनुपर्ने तर सामान्य नागरिक भयो भने उनीहरूलाई जेल पठाउनुपर्ने यही हो लोकतन्त्र भन्दै प्रश्न गर्नु भयो ।
उहाँले अहिले भइरहेको सरकारको गतिविधिले विगतमा हासिल गरेका राजनीतिक उपलब्धीहरु पनि गुम्ने खतरामा रहेको बताउनु भयो ।



