साउन ७,काठमाडौं : ललितानिवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नापी विभागकका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।
उनलाई नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान विभाग सीआईबीले जोरपाटीस्थित निवासबाट पक्रेको हो ।
योसँगै यस प्रकरणमा पक्राउ परेका १९ जना सिआइबीको हिरासतमा छन्। यसअघि शुक्रबार सर्वोच्च अदालतले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई छाड्न आदेश दिएको थियो। अहिले उनलाई हिरासतमा नराखी नै अनुसन्धान भइरहेको हो।
राउतले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले पनि उक्त रिट दायर गरेका थिए। तर उनीहरूलाई सर्वोच्चले थुनामुक्त गरेको थिएन।



