असार २६,काठमाडौं : सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई वारेसको सुविधा दिन अस्वीकार गरेको छ।अदालतको अवहेलना गरेको आरोप खेपिरहेका शाहले मुद्दाको तारिख खेप्नका लागि वारेसको सुविधा मागेर सर्वोच्च अदालतमा निवेदन दिएका थिए। तर,न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र हरि फूयालको इजलासले ‘मागबमोजिम नहुने’ भनी आदेश गरेको हो।
यो आदेशपछि मेयर शाह हरेक पटक आफैं अदालतमा उपस्थित भएर मुद्दाको तारिख लिनुपर्नेछ भने सुनुवाइका दिन अदालतमा अनिवार्य उपस्थित हुनुपर्नेछ। वारिस राख्ने सुविधा पाएको भए उहाँले मञ्जुरीनामा दिएको व्यक्तिले पनि तारिख लिन सक्थ्यो।
भारतीय सिनेमा चलाउन दिन रोक लगाएकोवारे परेको एक मुद्दामा उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। त्यसपछि मेयर शाहले अदालत समेत भारतको प्रभावमा परेर आदेश गरेको भनी सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए।
त्यो टिप्पणीमाथि प्रश्न उठाइ अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा शाहमाथि अदालतको अवहेलनाको आरोपमा उजुरी दिएकी थिइन्। सर्वोच्च अदालतले शाहलाई यसवारे जवाफ पठाउन आदेश दिइसकेको छ।



