२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

माहुरी पालेर प्रशस्त आम्दानी गर्दै रुकुमका किसान, २ करोड ५० लाखको मह बिक्री

images

  • २०८० पुस १९, बिहीबार
  • 1.1K
    SHARES
  • माहुरी पालेर प्रशस्त आम्दानी गर्दै रुकुमका किसान, २ करोड ५० लाखको मह बिक्री

    रुकुम पश्चिम :  रुकुम पश्चिममा यस वर्ष २१ मेट्रिक टन मह उत्पादन भएको छ। विगतका वर्ष भन्दा यस वर्ष महको उत्पादन बढेको हो। किसानले मह बेचेर रु दुई करोड ५० लाख कमाइ गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख मीनबहादुर केसीले जानकारी दिनुभयो। 

    जिल्लाको बाँफिकोट गाउँपालिका, आठविसकोट नगरपालिका, सानी भेरी गाउँपालिका, मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिकामा मह उत्पादन हुँदै आएको छ। किसानले प्रतिकिलो रु एक हजार दुई सयमा मह बेचेका छन्। मौरीले मह लगाउने याममा वर्षा नभएका कारण मह उत्पादन बढेको प्रमुख केसीले बताउनुभयो। “मौरीले राम्रो चरन पाएका कारण यस वर्ष राम्रो मह उत्पादन भएको हो”, प्रमुख केसीले भन्नुभयो। 


    जिल्लामा उत्पादन भएको मह काठमाडौँ, दाङ, नेपालगन्जसम्म पनि निर्यात भएको छ। “चिउरीको फुलबाट मौरीले लगाएको मह निकै राम्रो र औषधि गुण भएका कारण पनि रुकुम पश्चिममा उत्पादन भएको महको माग निकै छ, जिल्ला बाहिरबाट महको माग निकै आउने गरेको छ, यस वर्ष जिल्लामा राम्रो मह उत्पादन भएका कारण पनि बाहिरी जिल्लामा किसानले धेरै मह पठाउनुभएको छ”, प्रमुख केसीले भन्नुभयो। 

    जिल्लाको बाँफिकोट गाउँपालिका र सानी भेरी गाउँपालिकामा मौरी ब्लक विकास कार्यक्रम मार्फत जिल्ला कृषि विकास कार्यालयले किसानलाई सहयोग गरिरहेको छ। पालिकाहरूमा किसानको आवश्यकताअनुसार सहयोग भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। जिल्लामा दुई सय किसानले मह उत्पादन गर्ने गरेका छन्। 

    जिल्लामा आधुनिक घार र मुढे घारमा मह उत्पादन हुँदै आएको छ। पछिल्लो वर्ष आधुनिक घारको प्रयोग बढ्दै गएको कृषि विकास कार्यालयले जनाएको छ। मह उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि किसान मौरी पालन व्यवसायमा आकर्षित हुँदै आएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ