काठमाडौँ : ग्लोबल आइएमई बैङ्कले १७औँ वार्षिकोत्सवको अवसरमा बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। बैङ्कले चितवनको भरतपुर महानगरपालिका वडा नं. ८, शरदपुरको गौरीगंज स्वास्थ्य चौकीमा उक्त शिविर आयोजना गरेको हो । शिविरमा २०० भन्दा बढी महिलाहरूले आफ्नो स्वास्थ्य चेकजाँच गरेका छन्।
पौष १७ गते मङ्गलवारदेखि ग्लोबल आइएमई बैङ्क १७ औँ वर्ष पुरा गर्दै छ। उक्त अभियानअन्तर्गत बैङ्कले नेपाल परिवार नियोजन सङ्घसँगको सहकार्यमा सात वटै प्रदेशहरूमा एक दिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ। शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू– महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरू निःशुल्क रूपमा उपलब्ध हुनेछन्।
प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ। ग्लोबल आइएमई बैङ्कले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरूको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरूलाई प्रत्यक्षता लाभान्वित गर्दै आएको छ।
यस अन्तर्गत, बैङ्कले पुस ४ गते बुधवार सुदूरपश्चिम प्रदेशमा बाजुरा जिल्लाको गौमुल गाउँपालिका वडा नं. २, दह कोट स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ। जसमा १७० भन्दा बढी महिलाहरूको स्वास्थ्य जाँच गरेको थियो।
यसै गरी, बैङ्कले अरू ६ वटा प्रदेशहरूमा पुस महिनामा शिविरहरू सञ्चालन गर्नेछ। जस अन्तर्गत बैङ्कले बागमती प्रदेशमा भरतपुर महानगरपालिका वडा नं ०८ चितवन स्थित गौरीगंज स्वास्थ्य चौकी, शरदपुरमा पुस १३ गते शुक्रवार, लुम्बिनी प्रदेशमा रैनदेवी छहरा गाउँपालिका वडा नं. ३, पाल्पा स्थित छहरा स्वास्थ्य चौकीमा पुस १७ गते मङ्गलवार, कर्णाली प्रदेशमा वीरेन्द्रनगर नगरपालिका वडा नं. १३, सुर्खेत स्थित जर्बुटा स्वास्थ्य चौकीमा पुस १८ गते बुधवार, गण्डकी प्रदेशमा अन्नपूर्ण गाउँपालिका वडा नं. ६ म्याग्दी स्थित पोखरे बजार आधारभूत विद्यालयमा २१ शनिवार र कोसी प्रदेशमा इलाम नगरपालिका वडा नं. ४, इलाम स्थित मलाटे स्वास्थ्य चौकीमा २८ गते शनिवार स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी रहेको छ।
ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय परिसूचकहरू अनुसार मुलुककै सबैभन्दा ठुलो बैङ्क वाणिज्य बैङ्क हो। देशका ७७ वटै जिल्लामा ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालय सहित ११०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ। बैङ्कमा करिब ४ हजार कर्मचारीहरू कार्यरत रहेका छन् । बैङ्कले करिब ४५ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ।



