काठमाडौं : जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ को रामीडाँडा केन्द्रबिन्दु पारेर ६.८ म्याग्निच्यूडको भूकम्प गएको डेढ महिना पुगेको छ। भूकम्पपछि पीडितहरू त्रिपालमुनि रात काट्न बाध्य छन्। डेढ महिनामा चिसो र झाडापखालाका कारण ३४ जना भूकम्प पीडितको मृत्यु भएको छ। भूकम्पपछि बारीको पाटामा त्रिपालमुनि बस्दै आएका जाजरकोटका २९ र रुकुम पश्चिमका ५ जनाको चिसो र झाडापखालाले मृत्यु भएको हो।
त्यस्तै, चिसो बढेसँगै भूकम्प प्रभावितहरूको दैनिकी अझ कष्टकर बनिरहेको छ। चिसोका कारण भूकम्प पीडित धमाधम बिरामी पर्न थालेको छन्। भेरी अस्पतालमा दैनिक एक सय भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ।
त्रिपाल मुनीको बासले गर्दा चिसोका कारण मर्नेहरूको सङ्ख्या बढ्दो छ। भूकम्पले गरेको मानवीय र भौतिक क्षति एकातर्फ छदै छ। अर्कोतर्फ भूकम्प प्रभावित परिवारहरूको समयमै उचित व्यवस्थापन र सुरक्षित बसोबासको व्यवस्था नहुँदा श्वासप्रश्वास लगायत विभिन्न रोगबाट थलिएका सर्वसाधारणहरूको चिसोका कारण मृत्यु हुन थाल्यो।
भूकम्पमा परेर जाजरकोटमा १०१ जना र रुकुम पश्चिममा ५३ जना गरी १५४ जनाको मृत्यु भएको थियो। भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा मात्रै झन्डै ५५ हजार परिवार घरबार विहीन छन् भने दुवै जिल्लामा झन्डै ५ हजार अस्थायी आवास निर्माण भएका छन्।



