काठमाडौं : आज मङ्गलबार नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) का अधिकृत होमनाथ पोखरेल पक्राउ परेका छन्। भिजिट भिसामा खाडीका देश पठाउन नक्कली कागजात बनाउने काममा सहयोग गरेको आरोपमा पोखरेललाई आज पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरीले जानकारी दिनुभयो।
एयरलाइन्स, प्रहरी, अध्यागमनको मिलेमतोमा नक्कली कागजात बनाएर भिजिट भिसामा वैदेशिक रोजगारीका लागि पठाउने गरेको कुरा केही समय अघि खुलेको थियो। नक्कली कागजात प्रकरणमा प्रहरीले कन्सल्टेन्सीका सञ्चालक सहित १३ जनालाई पक्राउ गरेको छ। विस्तृत अध्ययनपछि थप जानकारी दिने प्रहरीले बताउनुभयो।
पोखरेलले एक व्यक्तिलाई पठाए बापत १० हजार रुपैयाँ पाउने गरेको प्रहरीले जानकारी दिनुभयो। पक्राउ परेका पोखरेलमाथि थप अनुसन्धान भइरहेको छ।



