मङ्सिर ७, काठमाडौं : आज बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको हो। साताको अन्तिम कारोबार दिन आज (बिहीबार) बजार परिसूचक नेप्से ९.८७ अंकले वृद्धि हुँदा १८६०.२० को विन्दुमा रोकिएको छ। त्यसैगरी,आज सेन्सेटिभ इण्डेक्स २.७६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०..६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ अंक बढेको छ।
१३ उपसमूहमध्ये आज १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। नेप्से बढेसंगै आज कारोबार रकम पनि हिजो बुधबारको तुलनामा केही बढेको छ। हिजो बुधबार १ अर्ब ८ करोड ७० लाख ९८ हजारको शेयर कारोबार भएको बजारमा आज २९२ स्टकको ४८ हजार ४९३ पटकको कारोबारमा १ अर्ब ३४ करोड ८३ लाख ४७ हजार रुपैयाँ बराबरको ४४ लाख २० हजार कित्ता शेयर कारोबार भएको छ।
आज १६१ स्टकको मूल्य बढेको छ भने ६७ स्टकको मूल्य घटेको छ। बाँकी १० स्टकको मूल्य स्थिर रहेको छ। आज बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर सकारात्मक सर्किट लागेको छ भने हालसम्मकै कम लाभांश वितरण गर्ने घोषणा गरेको नबिल बैंकको शेयरमूल्य आज सर्वाधिक ८.२० प्रतिशत घटेको छ।
आज निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.३७ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक, वित्त, जलविद्युत, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक आज १ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, लघुवित्त र अन्य उपसमूहको परिसूचक घटेको हो।
कारोबार रकमका आधारमा आज नबिल बैंक शेयर शीर्ष स्थानमा, १३ करोड १० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस्तै, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको ९ करोड भन्दा बढीको शेयर कारोबार भएको छ भने सानिमा जिआसीको शेयर ५ करोड भन्दा बढीको शेयर कारोबार भएको छ।



