२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आगामी असोज ९ देखि ११ सम्म देशभर भारी वर्षाको जोखिम : रातिको यात्रा नगर्न आग्रह

images

  • २०८३ असोज ५, सोमबार
  • 346
    SHARES
  • आगामी असोज ९ देखि ११ सम्म देशभर भारी वर्षाको जोखिम : रातिको यात्रा नगर्न आग्रह

    काठमाडौँ : नेपाल मौसम विज्ञान विभागले आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशभर भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको चेतावनी दिएको छ। मनसुनको पछिल्लो बदलावका कारण सर्वसाधारणको दैनिकी प्रभावित हुन सक्ने भन्दै पूर्वतयारी र सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

    कस्तो छ मौसमी प्रणाली? उत्तर अण्डमान सागर आसपास सुरु भएको न्यूनचापीय प्रणाली हाल बंगालको खाडीको मध्य भागमा पुगेर थप शक्तिशाली बन्दै ‘डिप डिप्रेसन’ मा परिणत भएको छ। यो प्रणाली पश्चिम-उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेकाले बुधबारदेखि नै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको प्रभाव बढ्दै जानेछ।

    असोज ९ देखि ११ सम्म गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित अति भारी वर्षाको सम्भावना छ। यस्तै, मधेस, कोशी, बागमती, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा पनि भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

    रातिको समयमा यात्रा नगर्नू मौसम विभागको बुलेटिनपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै नागरिकहरूलाई विशेष सतर्कता अपनाउन अपिल गरेको छ। बाढी, पहिरो, डुबान र गेग्रान बहावको उच्च जोखिम रहेकाले प्राधिकरणले निम्न कदमहरू चाल्न आग्रह गरेको छ।

    • यात्रामा रोक : अति जरुरी कामबाहेक लामो दूरीको र विशेषगरी रातिको समयमा यात्रा नगर्न।

    • सुरक्षा र तयारी : जोखिमपूर्ण राजमार्गहरूमा बाटो खुलाउन डोजर, एक्साभेटर र लोडर तयार राख्न सम्बन्धित निकायलाई निर्देशन।

    • सुरक्षित स्थानमा स्थानान्तरण : स्थानीय तह, सुरक्षा निकाय र जिल्ला सुरक्षा समितिलाई जोखिमयुक्त क्षेत्रका बासिन्दालाई पूर्वसूचना दिएर सुरक्षित स्थानमा सार्न आग्रह।

    • खोला तथा पहिरो क्षेत्रमा सतर्कता : आकस्मिक बाढी आउने खोला, खहरे र पहिरोको जोखिममा रहेका बस्तीका बासिन्दालाई उच्च सजगता अपनाउन अपिल।

    जरुरी सम्पर्क नम्बरहरू:

    • वर्षा र बाढीको जानकारीका लागि : ११४९

    • विपद्मा उद्धार/मद्दतका लागि : १२३४

    • नेपाल प्रहरी : १००

    • सशस्त्र प्रहरी बल : १११४

    कृषि, पर्यटन र यातायातमा पर्ने असर नदीनालामा पानीको सतह ह्वात्तै बढ्ने भएकाले दैनिक जनजीवन, सडक तथा हवाई यातायात, निर्माण कार्य र स्वास्थ्य क्षेत्र प्रभावित हुन सक्नेछ। धानबाली भित्र्याउने समय भएकाले किसानहरूलाई कृषि विज्ञको सल्लाह लिएर मात्र कटानी वा भण्डारणका काम गर्न भनिएको छ। साथै, हिमाली भू-भागमा भारी हिमपातको सम्भावना रहेकाले पर्वतारोही र पर्यटकहरूलाई सतर्क रहन महाशाखाले विशेष आग्रह गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ