काठमाडौँ : भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण बाढीका कारण बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङभित्र थप १८ जनाको शव फेला परेको छ।
शुक्रबार बिहान खोजी टोलीले आयोजनाको अडिट–३ टनेलमा रहेको छडको जालीमा अड्किएको अवस्थामा सुरुमा ६ वटा शव भेट्टाएको थियो। त्यसपछि थप खोजी गर्दा सोही स्थाननजिकै थप १२ वटा शव देखिएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए।
"जालीभित्र शवहरू देखिएका छन्, तर ती सबैलाई बाहिर निकाल्ने काम अझै बाँकी छ। टोलीले शवहरू निकाल्ने प्रयास गरिरहेको छ," प्रमुख जिल्ला अधिकारी पाण्डेले भने। यसअघि पनि उक्त आयोजनाको सुरुङ क्षेत्रबाट विभिन्न मितिमा १५ वटा शव निकालिसकिएको छ।
यद्यपि, हालसम्म फेला परेका कुनै पनि शवको सनाखत हुन सकेको छैन। सुरुङभित्र अझै कम्तीमा ३०० जना फसिरहेको हुनसक्ने अनुमान गरिएको छ। बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य निरन्तर जारी छ। तर सुरुङभित्र उद्धार काम ढिलो सुरु भएकाले अब कोही पनि जीवित भेटिने आशा मारिसकिएको बाढी प्रभावित र बेपत्ताका आफन्तहरूले दुःखेसो पोखेका छन्।