काठमाडौँ : दूरसञ्चार सेवा प्रदायक एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच एनसेलका ग्राहकहरूलाई गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एक सम्झौता भएको छ। यस साझेदारी अन्तर्गत एनसेलका ग्राहकहरूले बहिरङ्ग (OPD) सेवामा निःशुल्क तथा छुटमा चिकित्सक परामर्श सेवा प्राप्त गर्नेछन्।
सम्झौता अनुसार २९९ रुपैयाँ वा सोभन्दा माथिको प्याक वा रेन्टल सेवा प्रयोग गरिरहेका एनसेल ग्राहकहरूले नेपाल मेडिसिटी अस्पतालमा निःशुल्क ओपीडी (OPD) चिकित्सक परामर्श सेवा पाउनेछन्। त्यसैगरी, ९९ देखि २९९ रुपैयाँ सम्मको प्याक वा रेन्टल सेवा लिएका ग्राहकहरूले परामर्श शुल्कमा २० प्रतिशत छुट प्राप्त गर्नेछन्।
आज मङ्गलबार आयोजित एक कार्यक्रममा एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले यस सम्झौतामा हस्ताक्षर गरेका छन्।
एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले यो सहकार्य केवल कनेक्टिभिटीमा मात्र सीमित नभई ग्राहकहरूको स्वस्थ जीवन र कल्याणका लागि गरिएको प्रतिबद्धता भएको बताए। त्यसैगरी, नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले कर्पोरेट र स्वास्थ्य संस्थाबीचको यस्तो सहकार्यले नेपालभरका समुदायका लागि गुणस्तरीय स्वास्थ्य सेवालाई थप पहुँचयोग्य र किफायती बनाउन सहयोग पुर्याउने उल्लेख गरे।
सेवा कसरी लिने?
यस सुविधा लिनका लागि योग्य एनसेल ग्राहकहरूले एनसेल एप (Ncell App) मा लगइन गरी पार्टनर्ड सर्भिसेज (Partnered Services) खण्डमा गएर नेपाल मेडिसिटी अस्पताल छनोट गर्नुपर्नेछ। एपले ग्राहकको सक्रिय प्याकका आधारमा प्राप्त हुने सुविधा स्वतः देखाउनेछ। हाल योग्य प्याक नभएका ग्राहकहरूले आवश्यक प्याक वा रेन्टल सेवा खरिद गरी यस सुविधाको लाभ लिन सक्नेछन्।




