कैलाली : सुदूरपश्चिम प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधन र चालकमाथि प्रहरीले निगरानी तथा कारबाही बढाएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार पछिल्लो १३ महिनाको अवधिमा नियम विपरीत चलाइएका कुल ४३ हजार ५ सय ९३ वटा सवारीसाधनलाई कारबाही गरिएको छ। यस क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूबाट रु ३ करोड १८ लाख ८५ हजार ५ सय जरिवाना असुल गरी राजस्वमा दाखिला गरिएको छ।
कार्यालयको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०८२–८३ मा प्रदेशका नौवटै जिल्लामा गरी ३९ हजार २ सय १२ वटा सवारीसाधन कारबाहीमा परेका थिए। यस्तै, चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै ४ हजार ३ सय ८१ वटा सवारीसाधनलाई नियन्त्रण र कारबाहीमा ल्याइएको छ। साउन महिनाको कारबाहीबाट मात्रै रु ३७ लाख ९० हजार ५ सय जरिवाना असुल भएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (SP) नवराज कार्कीले जानकारी दिनुभयो।
लापरवाहीपूर्वक सवारी साधन हाँक्ने र नशामा गाडी चलाउने चालकहरूको सङ्ख्या पनि ठूलो देखिएको छ। गत साउन महिनामा मात्रै मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने १ हजार ८७ जना चालक कारबाहीमा परेका छन्। त्यसैगरी, गत आर्थिक वर्षभरिमा मापसे गरी सवारी चलाउने ३ हजार ६ सय ४१ जना र लागूऔषध सेवन (लापसे) गरेर सवारी हाँक्ने ५८ जना चालकलाई नियन्त्रणमा लिई जरिवाना गरिएको छ।
नियम पालना नगर्नेमा सबैभन्दा बढी दुईपाङ्ग्रे (मोटरसाइकल) सवारीसाधन रहेका छन्। गत आर्थिक वर्षमा मात्रै १३ हजार ६ सय ४८ वटा मोटरसाइकल कारबाहीमा परेका थिए। यसका साथै ८ हजार ८ सय ९३ जिप/कार, ६ हजार २ सय ८५ ट्रक, ४ हजार ८ सय ९० अन्य सवारी, ३ हजार ७ सय ११ ट्याक्टर र १ हजार ७ सय ८५ वटा बसलाई ट्राफिक प्रहरीले विभिन्न कसुरमा कारबाही गरेको थियो।
प्रदेशमा दिनप्रतिदिन सवारीसाधनको सङ्ख्या बढ्दै जानु, सडक संरचना साँघुरो हुनु र चालकहरूमा ट्राफिक नियमप्रतिको बेवास्ताका कारण दुर्घटनाको जोखिम उच्च बनेको छ। प्रहरी उपरीक्षक कार्कीका अनुसार सर्वसाधारणमा चेतनाको कमी र लापरवाहीका कारण नियम उल्लङ्घनको प्रवृत्ति बढेकाले दुर्घटना न्यूनीकरण गर्न नियमित चेकजाँचका साथै विभिन्न सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन्।
सवारी नियमको बेवास्ता गर्दा हुने दुर्घटनाले ठूलो जनधनको क्षति पुर्याइरहेको तथ्याङ्कले देखाउँछ। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्षमा मात्रै सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी २ सय ५० जनाले ज्यान गुमाएका थिए। सोही अवधिमा भएका दुर्घटनाहरूमा १ हजार ३ सय ८१ जना गम्भीर र १ हजार १ सय ६२ जना सामान्य घाइते भएका थिए।