काठमाडौँ : कृषि विकास बैंक लिमिटेड र टोखास्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबीच कर्मचारीहरूलाई लक्षित गर्दै स्वास्थ्य तथा बैंकिङ सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। सोमबार आयोजित एक विशेष कार्यक्रममा दुवै संस्थाका उच्च अधिकारीहरूको उपस्थितिमा यससम्बन्धी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।
यस सम्झौताअनुसार ग्रान्डी अस्पतालले कृषि विकास बैंकका बहालवाला तथा पूर्व कर्मचारी र तिनका आश्रित परिवारलाई स्वास्थ्योपचार, ल्याब परीक्षण, एक्स–रे, भिडियो एक्स–रे, बेड चार्ज, सर्जरी तथा वेलनेस प्याकेजमा विशेष छुट उपलब्ध गराउनेछ। साथै, अस्पतालले टेलि–कन्सल्टेसन, आपतकालीन उद्धार (रोड तथा हेलि सर्भिस) र स्वास्थ्य सचेतना कार्यक्रमहरूमा पनि प्राथमिकता र सहुलियत प्रदान गर्नेछ।
त्यसैगरी, बैंकले ग्रान्डी अस्पतालका डाक्टर, नर्स, प्यारामेडिक्स तथा सम्पूर्ण कर्मचारीहरूका लागि विभिन्न बैंकिङ सेवामा विशेष सहुलियतको व्यवस्था गरेको छ। अस्पतालका कर्मचारीले बैंकका जुनसुकै शाखाबाट डिजिटल बैंकिङ, डेबिट/क्रेडिट कार्ड, लकर सुविधा तथा घर, सवारी र शिक्षा कर्जाहरूमा विशेष छुट तथा प्रिमियम दर प्राप्त गर्नेछन्। यसबाहेक वैदेशिक मुद्रा सटही र रेमिट्यान्स सेवामा पनि विशेष छुट उपलब्ध हुनेछ।
उक्त सम्झौता पत्रमा कृषि विकास बैंकका तर्फबाट उपमहाप्रबन्धक सुशिल हुमागाईं र ग्रान्डी अस्पतालका तर्फबाट मुख्य सञ्चालन अधिकृत कर्णेल अमृत खन्नाले हस्ताक्षर गरेका छन्। कार्यक्रममा बैंक र अस्पतालका अन्य विभागीय प्रमुख तथा अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
यस सहकार्यले दुवै संस्थाबीचको संस्थागत सम्बन्धलाई थप मजबुत बनाउनुका साथै कर्मचारीहरूको कल्याण र गुणस्तरीय सेवाको पहुँचमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।



