२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अर्थतन्त्रलाई चलायमान बनाउन अर्थमन्त्री र बैंकरबीच उच्चस्तरीय छलफल

images

  • २०८३ साउन १९, मंगलबार
  • 2.0K
    SHARES
  • अर्थतन्त्रलाई चलायमान बनाउन अर्थमन्त्री र बैंकरबीच उच्चस्तरीय छलफल

    काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको अर्थतन्त्रलाई नयाँ चरणमा प्रवेश गराउन र उत्पादकत्व वृद्धिका लागि २० वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग मंगलबार महत्वपूर्ण परामर्श गरेका छन्। निजी क्षेत्रका प्रतिनिधिहरूसँगको संवाद लगत्तै आयोजित यो भेटघाटलाई कुनै औपचारिक बैठक मात्र नभई अर्थतन्त्रलाई पुनः गति दिने साझा अभियानको अर्को चरणको रूपमा अगाडि बढाइएको मन्त्री वाग्लेले बताएका छन्।

    अर्थतन्त्रको वास्तविक मनोविज्ञान र बजारको आत्मविश्वास बैंकरहरूलाई सबैभन्दा राम्रोसँग थाहा हुने उल्लेख गर्दै मन्त्री वाग्लेले बैंकिङ प्रणाली नै उत्पादन, लगानी र वित्तीय विश्वासको केन्द्र भएको बताए। बचतकर्तादेखि नयाँ व्यवसाय थाल्ने युवाहरूसम्मको पहुँच हुने भएकाले बजारको भविष्यप्रतिको अपेक्षा बुझ्न बैंकहरूको भूमिका निर्णायक हुने उनको भनाइ थियो।

    सरकारले बजेटमार्फत आर्थिक रूपान्तरणको स्पष्ट दिशा तय गरिसकेको बताउँदै मन्त्री वाग्लेले हाल सोही दिशामा रहेर कार्यान्वयनलाई तीब्रता दिइरहेको जानकारी दिए। बजेट कार्यान्वयनको चरणमा देखिन सक्ने समस्याहरूको समाधान खोज्न तथा बैंकरहरूको अनुभव र सुझावलाई समेट्न यो छलफल गरिएको हो।

    छलफललाई प्रभावकारी बनाउन मन्त्री वाग्लेले बैंकरहरूसामु करिब आधा दर्जन गम्भीर प्रश्नहरू तेस्र्याएका थिए। ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा पनि कर्जाको माग किन बढ्न सकेको छैन, प्रणालीमा रहेको अधिक तरलता उत्पादनमा किन रूपान्तरण हुन पाइरहेको छैन र व्यवसायीहरू लगानी विस्तार गर्न किन हिच्किचाइरहेका छन् भन्ने विषयमा उनले केन्द्रित रहेर उत्तर खोजेका छन्।

    समस्या पहिचानमा मात्रै सीमित नभई अबको कदम समाधान, समयसीमा र स्पष्ट जिम्मेवारीसहित अघि बढ्ने मन्त्री वाग्लेले दृढता व्यक्त गरेका छन्। कानुनी अड्चन भए कानुन फेर्ने, प्रक्रियागत झन्झट भए प्रक्रिया बदल्ने र सरकारबाट लिनुपर्ने निर्णयमा पछि नहट्ने प्रतिवद्धता व्यक्त गर्दै उनले अर्थतन्त्रलाई आशावादी बनाउन आग्रह गरे।

    सरकार र बैंकरबीचको सम्बन्ध केवल नियामकको मात्र नभई साझा राष्ट्रिय जिम्मेवारीको भएको औंल्याउँदै मन्त्री वाग्लेले बैठकमा प्राप्त सुझावहरूलाई छिट्टै स्पष्ट कार्यान्वयनको रोडम्यापमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ