काठमाडौँ : नेपाली तथा विदेशी नागरिकहरूले ५ हजार अमेरिकी डलर वा सोबराबरको विदेशी मुद्रा भन्सार घोषणा नगरिकनै नेपाल ल्याउन पाउने भएका छन्। नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागले एक सार्वजनिक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो।
राष्ट्र बैंकका अनुसार ५ हजार अमेरिकी डलर बराबरको अमेरिकी मुद्रा वा सोही सीमा बराबरको भारतीय रुपैयाँ नेपाल ल्याउँदा भन्सारमा घोषणा गर्नु पर्दैन। तर, ५ हजार डलरभन्दा बढी रकम नेपाल भित्र्याउनुपर्ने अवस्थामा भने अनिवार्य रूपमा भन्सार घोषणा (Customs Declaration) गराउनुपर्ने व्यवस्था गरिएको छ।
भारु २५ हजारसम्म ल्याउन/लैजान पाइने
यसै गरी, सन् २०१६ नोभेम्बर ९ पछि भारतीय रिर्जभ बैंकले जारी गरेका रु २०० र रु ५०० दरका भारतीय नोटहरू प्रतिव्यक्ति २५ हजार भारुसम्म नेपाल ल्याउन, लैजान तथा सटही गर्न पाइने राष्ट्र बैंकले जनाएको छ। यो सुविधा नेपाली तथा भारतीय नागरिक दुवैका लागि लागू हुनेछ।
ध्यान दिनुपर्ने मुख्य नियमहरू:
-
अन्य देशमा भारु प्रतिबन्ध: नेपाली नागरिकले भारतबाहेक अन्य तेस्रो मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट नेपालमा भारतीय रुपैयाँ भित्र्याउन पाउने छैनन्।
-
पुराना नोटमा प्रतिबन्ध कायमै: सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि जारी भएका ५०० र १,००० दरका पुराना भारतीय नोटहरूको कारोबार तथा सटहीमा लगाइएको प्रतिबन्ध अझै कायमै रहेको छ।



