काठमाडौँ : जलविद्युत कम्पनी माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले सर्वसाधारणका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) मा भोलि असार ८ गतेसम्म मात्र आवेदन दिन पाइनेछ।
कम्पनीले असार ३ गतेदेखि यो शेयर बिक्री सुरु गरेको हो। यसअघि कम्पनीले आयोजनाबाट प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरणमा शेयर बिक्री गरिसकेको थियो, जसपछि अहिले सर्वसाधारणका लागि दोस्रो चरणको बिक्री खुला गरिएको हो।
दोस्रो चरणअन्तर्गत कम्पनीले कर्मचारीका लागि ३४ हजार ४ सय कित्ता र सामूहिक लगानी कोषका लागि ८६ हजार कित्ता शेयर अलग्गै छुट्याएको छ। यसबाहेक १ सय रुपैयाँ अंकित मूल्य कायम गरी जम्मा १४ लाख २७ हजार ६ सय कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको छ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र बढीमा १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्।
आवेदन प्रक्रियाका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी-आस्बा सेवा सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाहरूमार्फत वा सीडीएस तथा क्लियरिङ लिमिटेडको 'मेरो शेयर' प्रणालीमार्फत निवेदन दिन सकिनेछ। यस आइपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबी आस्बा क्यापिटलले लिएको छ।



