काठमाडौँ : चालु आर्थिक वर्षको ११ महिनामा मधेस प्रदेश सरकारले ३० अर्ब १७ करोड १४ लाख ७३ हजार राजस्व संकलन गरेको छ । प्रदेश सरकारको अर्थ मन्त्रालयले चालु आवको हालसम्म आन्तरिक राजस्व संलन ४ अर्ब ५९ करोड ३३ लाख ८४ हजार रहेको जनाएको छ ।
प्रदेश सरकारको आन्तरिक राजस्व संकलनको मुख्य आयस्रोतका रूपमा घरजग्गा रजिस्ट्रेशन र सवारीसाधन कर मानिन्छ । सो अवधिमा घरजग्गा रजिष्ट्रेशनबाट १ अर्ब १८ करोड १२ लाख ९५ र सवारीसाधन करबाट २ अर्ब १ करोड ५० लाख ५० हजार राजस्व संकलन भएको मधेस प्रदेश सरकारका अर्थ मन्त्रालयका सूचना अधिकारी अंशुकुमार झाले जानकारी दिनु भएको छ ।
उहाँले चालु आव २०८२/८३ मा सवारी चालक अनुमतिपत्र वितरण तथ सवारी दर्ता दस्तुरबाट ६८ करोड ८२ लाख ७० हजार, यातायात क्षेत्रको आम्दानीबाट रु ११ करोड १० लाख ५९ हजार, दहत्तर बहत्तरको बिक्रीबाट रु १० करोड नौ लाख ३५ हजार राजस्व संकलन भएको बताउनु भएको छ ।
यस्तै, प्रदेश सरकारले बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत रु ७ अर्ब ७५ करोड ६४ लाख ९९ हजार, अन्तःशुल्क करबापत २ अर्ब ७७ करोड ४१ लाख प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत ११ महिनाको अवधिमा रु ७ अर्ब ६ करोड १६ लाख ७८ हजार, सशर्त अनुदान चालुतर्फ २ अर्ब १७ करोड २७ लाख ७२ हजार, सशर्त पुँजीगततर्फ १ अर्ब ५६ करोड ३० लाख ४० हजार प्राप्त भएको सूचना अधिकारी झाले बताउनु भएको छ ।



