काठमाडौँ : चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै ८ अर्ब ७० करोड रुपैयाँ बराबरका विभिन्न सवारीसाधन नेपाल भित्रिएका छन्। वीरगञ्ज भन्सार कार्यालयका अनुसार यस अवधिमा सवारीसाधन आयातबाट ७ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन गरिएको छ।
भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष सवारीसाधनको आयात र राजस्व दुवैमा उल्लेखनीय वृद्धि भएको छ। गत वर्षको तीन महिनामा ६ अर्ब १९ करोड रुपैयाँ बराबरका सवारीसाधन आयात हुँदा ५ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।
मोटरसाइकल आयातमा तीव्र वृद्धि
- चालु आवमा २४ हजार ९ सय ३९ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात हुँदा ३ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ। यसबाट ३ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन गरिएको छ।
- गत वर्षको सोही अवधिमा १९ हजार ४ सय ८९ वटा मोटरसाइकल आयात हुँदा २ अर्ब ४९ करोड रुपैयाँको कारोबार र २ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।
जीप, कार र भ्यानको आयात
- चालु आवमा ३ सय ३० वटा जीप, कार र भ्यान आयात हुँदा ६२ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ। यसबाट १ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन भएको छ।
- गत वर्ष ४ सय ३२ वटा यस्ता सवारीसाधन आयात हुँदा ७६ करोड ५८ लाख रुपैयाँको कारोबार र १ अर्ब ९६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।
विद्युतीय सवारीसाधनको आयातमा उल्लेखनीय वृद्धि
- चालु आवमा २ सय २९ वटा विद्युतीय जीप, कार र भ्यान आयात हुँदा ६८ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ। यसबाट ४५ अर्ब ७२ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
- गत वर्ष ९७ वटा विद्युतीय सवारीसाधन आयात हुँदा १४ करोड ४९ लाख रुपैयाँको कारोबार र ९ करोड ११ लाख रुपैयाँ राजस्व संकलन भएको थियो।



