काठमाडौँ : दोर्दी खोला जलविद्युत लिमिटेडले आज चैत १९ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १:१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो। यस सेयरको अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँ रहेको छ।
यस हकप्रद सेयरका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेकोले फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। लगानीकर्ताहरूले २०८२ वैशाख ८ गतेसम्म आवेदन दिन सक्नेछन्। सानिमा क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको यस हकप्रद सेयरमा आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखा तथा 'मेरो सेयर' अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिनेछ।
इक्रा नेपालले कम्पनीलाई इक्रा एपी इस्यूअर रेटिङ्ग 'बी प्लस' प्रदान गरेको छ, जसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी दोब्बर हुने अपेक्षा गरिएको छ, जसले जलविद्युत परियोजनाको विस्तार र दिगो विकासमा योगदान पुर्याउने विश्वास गरिएको छ।



