काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार पनि घटेको छ। पछिल्ला ३ कारोबार दिनदेखि निरन्तर ओरालो लागेको नेप्से आज १४.८८ अंकले घटेर २६८२.१५ विन्दुमा झरेको छ। आज सेन्सेटिभ इण्डेक्स २.९६ अंक, फ्लोट इण्डेक्स १.१४ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९५ अंकले ओरालो लागेको छ।
तर, कारोबार रकममा भने वृद्धिको संकेत देखिएको छ। आज ३ सय ११ कम्पनीका ९५ लाख ८३ हजार कित्ता शेयर खरिदबिक्री भई ५ अर्ब १४ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने हिजो ४ अर्ब ३४ करोड रुपैयाँको कारोबार भएको थियो।
बढी लाभ र घाटा हुने कम्पनीहरू : आज मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.३९ प्रतिशतले वृद्धि भई १ हजार ९ सय ८० रुपैयाँ पुगेको छ। त्यसैगरी, गरिमा समृद्धि योजना, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्यमा समेत सकारात्मक वृद्धि देखिएको छ। साथै,सर्वाधिक गिरावटमा भने सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर परेको छ, जसको मूल्य ९.२० प्रतिशतले घटेको छ।
सबैभन्दा बढी गिरावट वित्त उपसमूहमा देखियो, जसको परिसूचक १.५३ प्रतिशतले घट्यो। त्यस्तै, जीवन बीमा उपसमूहको परिसूचक पनि करिब १.५ प्रतिशतले घटेको छ।
उपसमूह परिसूचकको अवस्था : १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूह ओरालो लागेको छ। होटल तथा पर्यटन, म्युचुअल फण्ड र व्यापार उपसमूहमा सामान्य वृद्धि देखिएको छ।
उच्च कारोबार भएका कम्पनीहरू : कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। यस कम्पनीको २९ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको २३ करोड रुपैयाँभन्दा बढी र नेपाल पुनर्बीमा कम्पनीको १७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।



