काठमाडौं : चोभारस्थित सुक्खा बन्दरगाहबाट ५ महिनाको अवधिमा ४७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। तर, यो अवधिमा निर्यात भने शून्य रहेको भन्सार विभागले जनाएको छ।
भन्सार विभागका तथ्यांकअनुसार मंसिरसम्म ६ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएकोमा चोभार सुक्खा बन्दरगाहको हिस्सा केवल ०.०७ प्रतिशत रहेको छ।
हालै सरकारले यो बन्दरगाहलाई चिनियाँ नाकाबाट सामान ल्याउन पाउने गरी खुला गरेको छ। यसले आगामी दिनमा बन्दरगाहमा व्यापारिक चहलपहल बढ्ने अपेक्षा गरिएको छ।
देशभरका २८ भन्दा बढी भन्सार बिन्दुबाट वैदेशिक व्यापार भइरहेको विभागले जनाएको छ। तीमध्ये वीरगञ्ज भन्सार देशको प्रमुख व्यापारिक नाका बनेको छ। यो भन्सार बिन्दुबाट २ खर्ब १८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन कुल आयातको ३३ प्रतिशत हो।
यस्तै, वीरगञ्ज भन्सारमार्फत १९ अर्ब २५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। यो कुल निर्यातको २६.१५ प्रतिशत हो।



